आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा

सुवास विडारी

मकवानपुर — मकवानपुरमा कोरोना संक्रमित दैनिकरुपमा बढ्न थालेसँगै स्थानीय प्रशासनले आइतबार मध्यरातबाट निषेधाज्ञा जारी गरेको छ ।

आइतबार मध्यरातबाट मकवानपुरमा निषेधाज्ञा

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको शनिबार बसेको बैठकले वैशाख ३१ गते राति १२ बजेसम्म जिल्लाका चारवटा स्थानीय तह र राष्ट्रिय राजमार्गमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । सक्रिय कोरोना संक्रमितको संख्या र जोखिमको आधारमा हेटौंडा उपमहानगर, मनहरी, थाहानगर र भीमफेदी गाउँपालिका तथा राष्ट्रिय राजमार्गको दायाँ–बायाँ ५०० मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

‘संघीय राजधानी काठमाडौंसँग जोडिएका कारण राष्ट्रिय राजमार्गको निश्चित क्षेत्रमा निषेधाज्ञा गरिएको हो,’ उनले भने । अन्य स्थानीय तहको संक्रमित अवस्था र जोखिमको आधारमा निर्णय गरिने बताए । मकवानपुरका पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, धरान–चतरा, कान्ति लोकपथ, भीमफेदी–कुलेखानी–सिस्नेरी, भीमफेदी–कुलेखानी–फाखेल सडक संघीय राजधानी काठमाडौंसँग जोडिएका छन् । ‘पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न पाउँछ । हामीले जिल्लाको संक्रमितको बढ्दो अवस्था र स्वास्थ्यकर्मीहरुको सुझावको आधारमा यस्तो निर्णयमा पुगेका हौं ।’, उनले भने ।

जिल्ला स्वास्थ्य कार्यालय अनुसार शनिबारसम्ममा मकवानपुरमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँचसय २४ जना पुगेको छ ।

प्रकाशित : वैशाख १८, २०७८ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?