कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

चितवनमा पनि बिहीबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा

रमेशकुमार पौडेल

चितवन — कोरोना भाइरसको संक्रमण तीव्र भएसँगै चितवनमा पनि निषेधाज्ञा जारी भएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले वैशाख १६ गते बिहीबार मध्यरातदेखि वैशाख ३१ गते मध्यरातसम्म कायम रहने गरेर बजार, यातायात र अन्य सेवा सम्बन्धमा आदेशहरु जारी गरेको हो ।

चितवनमा पनि बिहीबारदेखि वैशाख ३१ गतेसम्म निषेधाज्ञा

आदेश अनुसार अत्यावश्यक काम बाहेक कोही पनि घर बाहिर निस्कन पाउने छैनन् । निस्कन आवश्यक पर्नेहरुले पनि मास्क लगाउने, भौतिक दुरी कायम गर्ने जस्ता स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ । सबै खाले सभा, सम्मेलन, गोष्ठी सेमिनार गर्न रोक लगाइएको छ । जात्राहरु र महोत्सवहरु पनि गर्न पाइने छैन । तर, स्वास्थ्य मापदण्ड पालना गरेर राष्ट्रिय जनगणनाका कार्यक्रमहरु गर्न छुट दिइएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, दोहरी रेष्टुरेन्ट, फनपार्क, फुटसल, पुस्तकालय, संग्राहालय, फिटनेस सेन्टर, जिम खाना, हेल्थ क्लब, स्पा, ब्युटीपार्लर, सैलुन, टेलर, स्वीमिङपुल, फुटपाथ पसल पनि सञ्चालन गर्न नपाइने भएको छ । विश्वविद्यालय, क्याम्पस र विद्यालयमा भौतिक रुपमा उपस्थित भएर परीक्षा, पठन पाठन र अन्य शैक्षिक गतिविधि पनि गर्न नपाइने आदेशमा उल्लेख छ ।

विवाह, व्रतबन्ध जस्ता कार्य होटल तथा पार्टी प्यालेसमा गर्न बन्देज लागेको छ । घरबाट गर्दा पनि १५ जनाभन्दा बढी सहभागी नहुन र तोकिएका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्न भनिएको छ । मृत्यु संस्कारमा सहभागी हुनुपर्ने भए गाडी उपयोग गर्दा जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । लामो तथा छोटो दूरीका गाडीहरु र निजी गाडी चलाउन रोक लगाइएको छ ।

मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य जमघट गर्न पनि पाइने छैन । यसैगरी डीसीसीएमसी चितवनको बैठकले चितवन राष्ट्रिय निकुञ्ज र सामुदायिक वनमा हुने सबै खाले जंगल सफारी तथा नारायणी र राप्ती नदीमा हुने जलयात्रामा पनि रोक लगाएको छ । अत्यावश्यक सेवा दिने कार्यालय बाहेक अरु कार्यालयको सेवा बन्द हुने छन् । घरबाटै काम गर्न मिले त्यसै गर्न भनिएको छ ।

खाद्य सामाग्री, तरकारी, फलफूल, दुध डेरी, ग्यास पसल, पेट्रोल पम्पहरु खुल्ने छन् । यसका साथै स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दूरसञ्चार, इन्टरनेट सेवा, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास तथा पेट्रोलियम पदार्थ, तरकारी, फलफूल, खाद्यन्न, दुग्ध पदार्थ, औषधि, पशुपंक्षीको दाना, माछा, मासु, अण्डा, पानी सम्बन्धि सेवाहरु पनि सञ्चालन गर्न रोक लगाइने छैन । उद्योग कलकारखाना शर्तसहित खोल्न स्वीकृति दिइने छ ।

डीसीसीएमसीले उद्योग कलकारखानामा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्नु पर्ने शर्त राखेको छ । कामदारलाई कारखाना परिसरमै आवासको प्रबन्ध गर्न भनिएको छ । त्यसो नगरे उद्योगले नै गाडीमा राखेर लाने ल्याउने प्रबन्ध गर्नुपर्ने नियम राखिएको छ । निषेधाज्ञाको अवधिभर पनि बैंकको एटीएमका लागि प्रयोग हुने गाडीहरु चल्न पाउने छन् । एम्बुलेन्समा बिरामीबाहेक कुरुवाको हकमा दुईजना मात्रै बस्न पाउने छन् ।

शव बाहन, दमकल, स्वास्थ्य सामाग्री बोकेका गाडीहरु, कूटनीतिक नियोगका गाडीहरु, मालबाहक गाडी, निर्माण सामाग्री बोकेका गाडीहरु पनि चल्ने पाउने छन् । अत्यावश्यक सेवा र सरकारी गाडीलाई पनि रोकतोक नहुने आदेशमा उल्लेख छ । सूचना विभागबाट जारी भएको परिचयपत्र भएका पत्रकारहरुले मात्रै गाडी चल्न दिने डीसीसीएमसीको निर्णयमा उल्लेख छ ।

कृषि उपज र औजार ढुवानी गर्ने गाडी पनि चल्न पाउने छन् । चितवनमा चैतको दोस्रो सातापछि कोरोना संक्रमण तीव्र हुँदै आएको छ । चितवन स्वास्थ्य कार्यालयका अनुसार बुधबार मध्यान्हसम्म जिल्लामा निको हुन बाँकी सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । जिल्लामा कुल संक्रमित सात हजार ५५३ छन् । संक्रमित भएकामध्ये चितवनका ११६ जनाको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : वैशाख १५, २०७८ १७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?