२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

नम्बरी जग्गामै बाँध

बर्खामा खोला बढेर बस्तीमा पस्थ्यो । घर भत्कन्थ्यो, स्याहारेको अन्न डुब्थ्यो । दुई वर्षअघि खोलालाई फराकिलो बनाएर बलियो तटबन्धन गरेपछि समस्या हटेको छ ।
रमेशकुमार पौडेल

चितवन — उनको केही जग्गा खोलाको डिलमा पर्‍यो । खोलो गत वर्षसम्म खेतभन्दा अलि परै थियो । तर फराकिलो बनाएर बाँध बाँधे बाढी नियन्त्रणमा मद्दत पुग्छ भनेपछि मुक्तिराम भट्टरार्ईले आफ्नो खेत डिलमा पर्न दिए । ‘यसो भएपछि अरू जग्गा सुरक्षित हुने भयो । खेती ढुक्कले खान पाइने भयो,’ भट्टराईले खुसी व्यक्त गरे । उनकै टोलमा रामबहादुर विक पनि केही नम्बरी जग्गा गुमाएर खोलो छेक्न तयार भए ।

नम्बरी जग्गामै बाँध

माडीको रतनी खोलाले बर्खा लागेपछि चार हजार स्थानीयलाई त्रासमा राख्थ्यो । माडी नगरपालिका ३, ५ र ६ का ७९६ घरधुरीलाई बाढी कुन बेला घरभित्र पस्ने हो भन्ने डर हुन्थ्यो । ‘व्यवस्थित ड्याम बनाएपछि यो डरत्रास पक्कै रोकिन्छ,’ माडी–६ घर भएका भट्टराईले भने । सदरमुकाम भरतपुरदेखि दक्षिण चितवन राष्ट्रिय निकुञ्जको जंगल पार गरेर पुगिने माडीमा दर्जनौं खहरे खोलाहरू छन् । माडीको मुख्य समस्या नै खहरेमा आउने बाढी र निकुञ्जका जंगली जनावर बस्तीमा पसेर दिने सास्ती नै हो । हिउँद लागेपछि सुक्ने खहरेले वर्षायाममा रौद्र रूप देखाउँछ ।

माधुरी साहको रतनी खोलाको नजिकै जस्ताले छाएको र खडाइले बारेको सानो घर छ । ‘बर्खा लागेपछि त यो खोला तर्न नै गाह्रो हुन्छ । बारी सबै पानीमा डुब्छ,’ माधुरीले सुनाइन् । उनी यो ठाउँमा बस्न आएको १० वर्ष भयो । बाढीले दुईपटक उनको घर भत्काइसकेको छ । चार वर्षदेखि १८ वर्षसम्मका चारजना छोरी छन् । श्रीमान् बिरामी छन् । बर्खायाममा सुरक्षित हुन भौतारिनुपर्छ । तर यो वर्ष घर आडमा बनेको ढिस्को अब बाढीले पार गर्न नसक्नेमा उनी आशावादी छिन् ।

‘अघिल्लो वर्ष नै तल खोला खोलेर चौडा बनाएको थियो । बर्खामा त्यत्रो पानी आउँदा पनि यता खासै समस्या भएन । अहिले यही घरनजिकै खोलो चौडा भयो । ढिक बलियो भयो । यति भएपछि हामी अब ढुक्क हुन सकिएला,’ माधुरीले भनिन् । रतनीको आडमा बाँदरमुढे खोला छ । दुई वर्षअघि त्यो खोलालाई फराकिलो बनाएर बलियो तटबन्ध गरिएको थियो । त्यसपछि बाँदरमुढे आडका बस्ती बाढीबाट सुरक्षित भए । यही विधि रतनी खोलामा अपनाइएको छ । ‘खोला साँधुरो थियो । बर्खामा पानी अत्यधिक हुँदा नाघेर बस्ती र बारीमा पस्थ्यो । यो समस्या निराकरणका लागि खोला फराकिलो बनाउने र तटबन्ध बलियो बनाउने नै हो । बाँदरमुढे यही कारणले समस्या मुक्त भयो । रतनीमा त्यही गर्दै छौं,’ रवीन्द्रसिंह ठकुरीले भने । उनी नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का परियोजना संयोजक हुन् । आरआरएनले माडी नगरपालिकासँग समन्वय गरेर बाढी नियन्त्रणका लागि काम गर्दै आएको छ । ‘समस्या निकै चर्को थियो । बाढी पसेर कम्मर कम्मर पानी पुग्थ्यो । घर भत्कन्थ्यो । स्याहारेको अन्न डुब्थ्यो । खेतको अन्न पुरिन्थ्यो,’ स्थानीय उपेन्द्रकुमार श्रेष्ठले भने, ‘पहिला गाविस र पछि नगरपालिकाले बाढी नियन्त्रणका लागि भन्दै वर्षमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म दिन्थ्यो । त्यसले कुनै प्रभावकारी काम हुँदैनथ्यो ।’

त्यसैले वर्षायाममा पानी पर्न थालेपछि उनी जागै बस्थे । बाढी बढ्न थालेपछि ल है सुरक्षित बनौं भन्दै टोल चाहार्थे । केटा केटी, बूढाबूढीलाई सुरक्षित ठाउँमा लैजान मद्दत गर्नु पर्दथ्यो । पैसा भएका बर्खा लागेपछि कोठा भाडामा लिएर बजारतिर पनि बस्थे । तर टोलका अधिकांश निम्न आय भएकाचाहिँ गाउँमै बस्न बाध्य थिए ।

बाढी रोक्न भन्दै पहिला थोरै बजेट आउँथ्यो । आएको बजेट खर्च गर्न पनि गाह्रो हुन्थ्यो । ‘ल तटबन्ध गरौं भन्यो खोलो कहाँ हो भन्नै गाह्रो । यता पनि मेरो जग्गा भन्दै आउँछन् । उता पनि मेरो जग्गा भन्दै आउँछन् । बाँध लगाउन पनि नपाउने, बाढी पनि नरोकिने समस्या थियो,’ हसमुद्दिन मियाँले भने । तर बाँदरमुढे फराकिलो बनाएर बलियो तटबन्धन गर्न स्थानीयले नम्बरी जग्गा माया मारे । त्यो सुनेपछि रतनी वरपर बस्ने पनि तयार भए । ‘रतनीमा अहिले ३० बिघा जमिन तटबन्धमा परेको छ । काम पूरा हुँदा सय बिघा जति निजी जमिन तटबन्ध बनाउन राजीखुसी दिने सम्भावना छ,’ संयोजक ठकुरीले भने । समस्या ल्याउने नदीको मुहानदेखि अन्तिम बिन्दुसम्म व्यवस्थापनको काम हुने गरेको उनले बताए । चार/पाँच मिटर चौडा रतनीलाई एकनासको २० मिटर चौडा बनाइँदै छ । घुमाउरो र साँघुरो ठाउँ नराख्ने उनले बताए । तीनवर्षे योजना सन् २०२० को फेब्रुअरीबाट सुरु भएको थियो । यसको बजेट १३ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?