नम्बरी जग्गामै बाँध- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नम्बरी जग्गामै बाँध

बर्खामा खोला बढेर बस्तीमा पस्थ्यो । घर भत्कन्थ्यो, स्याहारेको अन्न डुब्थ्यो । दुई वर्षअघि खोलालाई फराकिलो बनाएर बलियो तटबन्धन गरेपछि समस्या हटेको छ ।
रमेशकुमार पौडेल

चितवन — उनको केही जग्गा खोलाको डिलमा पर्‍यो । खोलो गत वर्षसम्म खेतभन्दा अलि परै थियो । तर फराकिलो बनाएर बाँध बाँधे बाढी नियन्त्रणमा मद्दत पुग्छ भनेपछि मुक्तिराम भट्टरार्ईले आफ्नो खेत डिलमा पर्न दिए । ‘यसो भएपछि अरू जग्गा सुरक्षित हुने भयो । खेती ढुक्कले खान पाइने भयो,’ भट्टराईले खुसी व्यक्त गरे । उनकै टोलमा रामबहादुर विक पनि केही नम्बरी जग्गा गुमाएर खोलो छेक्न तयार भए ।

माडीको रतनी खोलामा तटबन्धन गरिँदै । तस्बिरः रमेशकुमार,कान्तिपुर ।

माडीको रतनी खोलाले बर्खा लागेपछि चार हजार स्थानीयलाई त्रासमा राख्थ्यो । माडी नगरपालिका ३, ५ र ६ का ७९६ घरधुरीलाई बाढी कुन बेला घरभित्र पस्ने हो भन्ने डर हुन्थ्यो । ‘व्यवस्थित ड्याम बनाएपछि यो डरत्रास पक्कै रोकिन्छ,’ माडी–६ घर भएका भट्टराईले भने । सदरमुकाम भरतपुरदेखि दक्षिण चितवन राष्ट्रिय निकुञ्जको जंगल पार गरेर पुगिने माडीमा दर्जनौं खहरे खोलाहरू छन् । माडीको मुख्य समस्या नै खहरेमा आउने बाढी र निकुञ्जका जंगली जनावर बस्तीमा पसेर दिने सास्ती नै हो । हिउँद लागेपछि सुक्ने खहरेले वर्षायाममा रौद्र रूप देखाउँछ ।

माधुरी साहको रतनी खोलाको नजिकै जस्ताले छाएको र खडाइले बारेको सानो घर छ । ‘बर्खा लागेपछि त यो खोला तर्न नै गाह्रो हुन्छ । बारी सबै पानीमा डुब्छ,’ माधुरीले सुनाइन् । उनी यो ठाउँमा बस्न आएको १० वर्ष भयो । बाढीले दुईपटक उनको घर भत्काइसकेको छ । चार वर्षदेखि १८ वर्षसम्मका चारजना छोरी छन् । श्रीमान् बिरामी छन् । बर्खायाममा सुरक्षित हुन भौतारिनुपर्छ । तर यो वर्ष घर आडमा बनेको ढिस्को अब बाढीले पार गर्न नसक्नेमा उनी आशावादी छिन् ।

‘अघिल्लो वर्ष नै तल खोला खोलेर चौडा बनाएको थियो । बर्खामा त्यत्रो पानी आउँदा पनि यता खासै समस्या भएन । अहिले यही घरनजिकै खोलो चौडा भयो । ढिक बलियो भयो । यति भएपछि हामी अब ढुक्क हुन सकिएला,’ माधुरीले भनिन् । रतनीको आडमा बाँदरमुढे खोला छ । दुई वर्षअघि त्यो खोलालाई फराकिलो बनाएर बलियो तटबन्ध गरिएको थियो । त्यसपछि बाँदरमुढे आडका बस्ती बाढीबाट सुरक्षित भए । यही विधि रतनी खोलामा अपनाइएको छ । ‘खोला साँधुरो थियो । बर्खामा पानी अत्यधिक हुँदा नाघेर बस्ती र बारीमा पस्थ्यो । यो समस्या निराकरणका लागि खोला फराकिलो बनाउने र तटबन्ध बलियो बनाउने नै हो । बाँदरमुढे यही कारणले समस्या मुक्त भयो । रतनीमा त्यही गर्दै छौं,’ रवीन्द्रसिंह ठकुरीले भने । उनी नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) का परियोजना संयोजक हुन् । आरआरएनले माडी नगरपालिकासँग समन्वय गरेर बाढी नियन्त्रणका लागि काम गर्दै आएको छ । ‘समस्या निकै चर्को थियो । बाढी पसेर कम्मर कम्मर पानी पुग्थ्यो । घर भत्कन्थ्यो । स्याहारेको अन्न डुब्थ्यो । खेतको अन्न पुरिन्थ्यो,’ स्थानीय उपेन्द्रकुमार श्रेष्ठले भने, ‘पहिला गाविस र पछि नगरपालिकाले बाढी नियन्त्रणका लागि भन्दै वर्षमा ५० हजारदेखि एक लाख रुपैयाँसम्म दिन्थ्यो । त्यसले कुनै प्रभावकारी काम हुँदैनथ्यो ।’

त्यसैले वर्षायाममा पानी पर्न थालेपछि उनी जागै बस्थे । बाढी बढ्न थालेपछि ल है सुरक्षित बनौं भन्दै टोल चाहार्थे । केटा केटी, बूढाबूढीलाई सुरक्षित ठाउँमा लैजान मद्दत गर्नु पर्दथ्यो । पैसा भएका बर्खा लागेपछि कोठा भाडामा लिएर बजारतिर पनि बस्थे । तर टोलका अधिकांश निम्न आय भएकाचाहिँ गाउँमै बस्न बाध्य थिए ।

बाढी रोक्न भन्दै पहिला थोरै बजेट आउँथ्यो । आएको बजेट खर्च गर्न पनि गाह्रो हुन्थ्यो । ‘ल तटबन्ध गरौं भन्यो खोलो कहाँ हो भन्नै गाह्रो । यता पनि मेरो जग्गा भन्दै आउँछन् । उता पनि मेरो जग्गा भन्दै आउँछन् । बाँध लगाउन पनि नपाउने, बाढी पनि नरोकिने समस्या थियो,’ हसमुद्दिन मियाँले भने । तर बाँदरमुढे फराकिलो बनाएर बलियो तटबन्धन गर्न स्थानीयले नम्बरी जग्गा माया मारे । त्यो सुनेपछि रतनी वरपर बस्ने पनि तयार भए । ‘रतनीमा अहिले ३० बिघा जमिन तटबन्धमा परेको छ । काम पूरा हुँदा सय बिघा जति निजी जमिन तटबन्ध बनाउन राजीखुसी दिने सम्भावना छ,’ संयोजक ठकुरीले भने । समस्या ल्याउने नदीको मुहानदेखि अन्तिम बिन्दुसम्म व्यवस्थापनको काम हुने गरेको उनले बताए । चार/पाँच मिटर चौडा रतनीलाई एकनासको २० मिटर चौडा बनाइँदै छ । घुमाउरो र साँघुरो ठाउँ नराख्ने उनले बताए । तीनवर्षे योजना सन् २०२० को फेब्रुअरीबाट सुरु भएको थियो । यसको बजेट १३ करोड १६ लाख रुपैयाँ रहेको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्

फर्कियो आँखाको ज्योति

‘कोरोनाका कारण गत वर्ष शिविर सञ्चालन भएन, त्यसैले यो वर्ष बिरामीको भीड भयो’
तुलाराम पाण्डे

कालिकोट — पलाता–७ पारौटीका ८२ वर्षीय चक्र खत्रीले आँखा देख्न छाडेको ७ वर्षपछि आँखाको ज्योति पाएका छन् । नातिको सहारामा मान्म पुगेका उनी मोतीबिन्दुको शल्यक्रिया गरेपछि लौरो टेक्दै घर फर्किए । सान्नीत्रिवेणी–९ की ९३ वर्षीया गोमा केसीले पनि ३ वर्षपछि फेरि संसार देख्न पाएकी छन् ।

कालीकोटको मान्ममा आयोजित नि:शुल्क आँखा शिविरमा शल्यक्रिया गरिएका बिरामी । तस्बिर : तुलाराम/कान्तिपुर

नेपाल नेत्रज्योति संघको संयोजनमा हिमालयन आँखा अस्पताल, पोखराले सञ्चालन गरेको आँखा शिविरमा शल्यक्रिया गरेपछि उनीहरूको आँखाको ज्योति फर्किएको हो । ‘आँखा नदेख्दा संसारै अँध्यारो थियो,’ खत्रीले भने, ‘ज्योति फर्किएपछि अझै केही वर्ष बाँच्छु भन्ने आँट पलाएको छ ।’ उनले आँखा नदेख्दाको पीडा कल्पनै गर्न नसकिने जनाए ।

आइतबारसम्म मान्ममा आयोजना गरिएको ३ दिने शिविरमार्फत १ सय ४८ जनाको शल्यक्रिया गरिएको छ । शिविरमा कालीकोट, बाजुरा, दैलेख, अछाम र जुम्लाका ८ सय ७९ जनालाई सेवा दिइएको शाखाका सभापति खडानन्द पाण्डेले बताए । उनका अनुसार अधिकांशमा आँखा पाक्ने, चिलाउने, सुन्निने, आँखा सुक्खा हुने समस्या देखिएको थियो । ‘बर्सेनि शिविरमार्फत ज्येष्ठ नागरिकहरूको ज्योति फर्कारहेका छौं,’ उनले भने, ‘गत वर्ष कोरोनाका कारण शिविर सञ्चालन भएन, त्यसैले यो वर्ष बिरामीको भीड भयो ।’ आर्थिक र पारिवारिक समस्याका कारण बाहिर गएर उपचार गराउन नसक्नेका लागि जिल्लामै निःशुल्क शिविरको आयोजना गरिएको उनको भनाइ छ ।

अधिकांश मोतीबिन्दु भएकाहरूको शल्यक्रिया गरिएको नेत्र विशेषज्ञ डा. हरिविक्रम अधिकारीले बताए । उनका अनुसार शल्यक्रिया गरिएका धेरै बिरामी ६० वर्ष माथिका हुन् । ‘आँखा संवेदनशील र महत्त्वपूर्ण अंग भए पनि लापरबाही गर्ने र घरेलु उपाय अपनाउने गरेकाले समस्या देखिएको छ,’ उनले भने, ‘सुरुमा बेवास्ता गर्ने र ठीक नभएपछि मात्र जँचाउन आउँदा गाउँका अधिकांश बासिन्दा आँखाको रोगी बनेका हुन् ।’ उनले बिरामीलाई शल्यक्रियासँगै औषधि र चस्मा पनि निःशुल्क वितरण गरिएको बताए । नगर प्रमुख जसीप्रसाद पाण्डेका अनुसार शिविर व्यवस्थापनका लागि खाडाचक्र नगरपालिकाले ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

प्रकाशित : वैशाख ८, २०७८ ०९:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×