युद्धकालीन हतियार जम्मा गर्दै सेना- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युद्धकालीन हतियार जम्मा गर्दै सेना

कान्तिपुर संवाददाता

सिन्धुली — युद्ध संग्रहालयका लागि नेपाली सेनाले युद्धकालीन हतियार संकलन थालेको छ । सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित सिन्धुलीगढीमा निर्माणाधीन संग्रहालयका लागि ऐतिहासिक सामग्री संकलन थालिएको हो ।

यस क्रममा सेनाले तत्कालीन गोर्खा फौज र ब्रिटिस सेनाबीचको युद्धमा प्रयोग भएका सात थान खुँडाखुकुरी र एक थान धनुवाण संकलन गरिसकेको छ । कमलामाई नगर प्रमुख खड्गबहादुर खत्रीले युद्धकालीन घरेलु हतियार सेनालाई हस्तान्तरण गरे ।

नेपाल एकीकरणका क्रममा विसं. १८२४ मा गोर्खाली सेना र कप्तान किनलोकको नेतृत्वमा आएको अंग्रेज सेनाबीच सिन्धुलीगढीमा भएको युद्धमा गोर्खाली सेनाले प्रयोग गरेका दुई थान भाले खुँडा र एक थान तरबार खत्रीले सेनाको ९ नं. बाहिनीका सहायक रथी धुव्रल प्रकाश शाहलाई हस्तान्तरण गरेका हुन् । ‘पुर्खाले जोगाएर राखेको ऐतिहासिक घरेलु हतियार मेरो हजुरबुबा, बुबा हुँदै संरक्षणको जिम्मा मलाई आएको थियो, यो सबैको सम्पत्ति ठानेर हस्तान्तरण गरेको छु,’ उनले भने ।

सिन्धुलीगढी युद्धका योद्धा वंशुधर थापाका सन्तान साबिक भद्रकाली गाविसका अध्यक्ष हरिबहादुर थापाको घरमा रहेको खुँडा खत्रीले घरमै पुगेर ल्याएका थिए । उक्त हरियारसमेत सेनालाई हस्तान्तरण गरेका छन् । अन्य ऐतिहासिक घरेलु हतियारको पनि खोजी भइरहेको उनले सुनाए ।

सहायक रथी शाहले संग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताए । ‘मुख्य चुनौतीको रूपमा रहेको तत्कालीन युद्धको समयमा प्रयोग भएका हतियार र युद्धसँग सम्बन्धित सामग्रीहरू संकलन कार्य भइरहेको छ,’ उनले भने । नागरिक सहयोग अभियानअन्तर्गत सिन्धुलीगढीमा गत वर्ष

माघदेखि नेपालमै पहिलो युद्ध संग्रहालय निर्माण सुरु गरिएको हो । संग्रहालय निर्माणको जिम्मा सिन्धुलीमाढीस्थित सेनाको बर्द्धबहादुर गणले पाएको छ । संग्रहालय बनाउन चार करोड १७ लाख रुपैयाँ लागत लाग्ने अनुमान छ ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्

जसले बेंसी झरेर सहकारी खोले

मुलुककै पहिलो सहकारीका संस्थापक सदस्यलाई सरकारबाट पहिलो पटक सम्मान
रमेशकुमार पौडेल

चितवन — लेकको चरी, चितवनको झाडीमाभात छैन, मकै छ हाँडीमाजन्म ठाउँ छाड्न बाध्य लेकका मानिसहरू चितवनको फाँटमा यस्तो बह पोख्ने गरेको इन्द्रसिंह गुरुङले पनि सुनेका थिए । उमेरले ९० पुगेका ईन्द्रसिंह किशोर हुँदा जन्मथलो तनहुँ पुलिमराङबाट चितवन झरे । त्यतिबेला तनहुँ, लमजुङ र गोरखाबाट चितवन झर्नेको लर्को लागेको थियो ।

सहकारी विभागबाट पहिलो पटक सम्मानित नेपालकै पहिलो बखान सहकारीका संस्थापक सेयर सदस्यहरू इन्द्रसिंह गुरुङ (बायाँ) र कृष्णमान गुरुङ । तस्बिर : रमेशकुमार/कान्तिपुर

विसं २०११ मा बाढी–पहिरोको वितण्डाले पहाडमा बस्न नसकेर उनीहरू चितवन झरेका हुन् । कम्तिमा खान दुख हुँदैन, खेती गर्ने जमिन पाइन्छ भनेर नै पहाडबाट धमाधम चितवन ओइरिएका थिए । हाल ९१ वर्ष भएका गोरखा सिरानचोक सिम्लेका कृष्णमान गुरुङको उद्देश्य पनि यही थियो । चितवन आएको मिति सम्झन उनलाई गाह्रो छ । तर फ्याट्ट भन्छन्, ‘यहाँ आएर ६४ बाली खाइयो ।’ यसका लागि झाडी फाँड्नु पर्‍यो । पैसा नहुँदा मल, बीउ, हलो कोदालो किन्न सास्ती पाउनु परेको उनी सम्झन्छन् ।

त्यही सास्ती कम गर्न भनेर उनीहरूले सहकारी संस्था खोलेका थिए । २०१३ चैत २० मा दर्ता भएको बखानपुर ऋण सहकारीका संस्थापक ६० जनाभित्र पर्छन् इन्द्रसिंह गुरुङ र कृृष्णमान गुरुङ । यो सहकारी नेपालमा दर्ता भएको पहिलो हो । प्रतिव्यक्ति १० रुपैयाँ शेयर पुँजी संकलन गरेर गठन भएको सहकारीका हाल जीवित शेयर सदस्य पनि यी दुई जना मात्रै हुन् । ‘पहाडमा पहिरोले सवै लगेपछि यहाँ आएका हौं । त्यो बेला जमिन त पाइयो तर खन्न खोस्रन हलो कुटो चाहिन्थ्यो । त्यो किन्ने धन सम्पति पनि थिएन । जे जति आएका थियौं ति मिलेर समूह खोलौं, पैसा जम्मा गरौं भन्ने निर्णय भयो,’ कृष्णमानले त्यो बेलाको सहमति सम्झिए । पुलिमराङका बखानसिंह गुरुङ नेपाली सेनाका चल्तापुर्ता अफिसर थिए । राजनीतिमा पनि उनको रुचि थियो । २००८ मा सेनाको जागिर छाडेपछि उनी चितवन झरे । त्यो बेला राजा त्रिभुवनसँग नै उनको सम्बन्ध, सम्पर्क थियो । चितवनमा व्यवस्थित बस्ती बसाल्ने निधो गरेर २००९ मा क्षेत्रपुरमा आएर बसेको बखानसिंहका नाति चन्द्रध्वज गुरुङ बताउँछन् । एक वर्षपछि उनी पश्चिम चितवनतर्फ लागे । हाल शारदानगर भन्ने ठाउँमा उनले बस्ती बसाए । जसलाई पञ्चायतअघि बखानपुर भन्ने गरिन्थ्यो ।

२०१३ मा सरकारले राप्तीदून विकास परियोजना सञ्चालन गरेर पहाडका मानिसलाई चितवनमा बस्न प्रेरित गर्न थाल्यो । बखानसिंह यो काममा जुटे । नयाँ ठाउँमा आएका मान्छेलाई ऋण सापटको आपत् नहोस् भन्न बखानसिंहकै नेतृत्वमा सहकारी संस्था गठन भयो । त्यही सहकारीका जीवित सेयर सदस्य कृष्णमान र इन्द्रसिंह पहिलो पटक गत वैशाख ३ मा सहकारी विभागबाट सम्मानित भएका छन् । ‘४०/५० रुपैयाँ ऋण वा सापटी आवश्यक भए दिन सक्ने मान्छे वरपर भेटिन गाह्रो थियो । त्यसैले बाजेले सहकारी खोल्नु भयो । ६ सय रुपैयाँ जम्मा भयो । त्यो भनेको ठूलो रकम हो त्यो बेला,’ नाति चन्द्रध्वजले भने । बखान सहकारीका उनी हाल संरक्षक पनि हुन् । सहकारी विभागका उप–रजिस्ट्रार सुरेन्द्रराज पाण्डे २०१३ को चैत २० मा एकै दिन १३ वटा सहकारी दर्ता भएको बताउँछन् ।

‘त्यसैले चैत २० लाई हामी राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउँछौं । त्यस दिन दर्ता भएका १३ सहकारीमध्ये बखान सहकारी पहिलो नम्बरमा छ । त्यसैले यसलाई पहिलो सहकारी मानिएको हो । यो आधिकारिक हो,’ उप–रजिष्ट्रार पौडेलले भने । यो पटकको राष्ट्रिय सहकारी दिवसमा पहिलो सहकारीका जीवित संस्थापकलाई सम्मान गरिएको उनले बताए । ‘हाम्रो मुल कार्यक्रम काठमाडौंमा सम्पन्न भयो । उहाँहरूको उमेर र कोरोना महामारीले गर्दा उहाँहरूलाई काठमाडौं लैजान सकिएन । त्यसैले बखान सहकारीमा नै आएर सम्मान अर्पण गरेका हौं,’ उनले भने ।

सहकारीका जीवित संस्थापक सेयर सदस्यले राज्यबाट पाएको यो सम्मान पहिलो भएको पौडेलले बताए । उनका अनुसार हाल देशभर सहकारी संस्थाहरूको सख्या २९ हजार ९ सय ८६ पुगेको छ । शेयर पुँजी एक खर्ब र बचत संकलन ५ खर्ब रुपैयाँ भएको छ । ७३ लाख शेयर सदस्यहरू छन् । ‘यसको सबैभन्दा सुरुवाती जगमा बसेकाहरूलाई सम्मान गर्न पाउनु अहोभाग्य हो । उहाँहरूको सोच आज यसरी फैलिएको छ । केही विकृतिहरू पनि बढेका छन् । तर निराकरण गर्दै सहकारी अभियान अगाडि बढ्छ,’ उनले भने भने ।

प्रकाशित : वैशाख ७, २०७८ ०९:२८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×