कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

‘जघन्य अपराध’ मा सडक बालबालिका

स–साना चोरीका घटना हुँदै विभिन्न स्वार्थ समूहले आपराधिक काममा प्रयोग गर्ने खतरा
नगेन्द्र अधिकारी

काभ्रे — बनेपा–८ मा पार्किङ गरी राखिएको बसमा गत चैत २२ मा इलाका प्रहरी कार्यालय बनेपाले एक महिलालाई मृत अवस्थामा फेला पार्‍यो । जबर्जस्ती करणीपछि हत्या भएको हुन सक्ने अनुमान प्रहरीको छ । घटनास्थलमा यौनबर्द्धक सामानसमेत भेटिए ।

सडकमा मृतक भेटिएको आधारमा सडक बालबालिकालाई शंकाको घेरामा राखी प्रहरीले अनुसन्धान थाल्यो । २–३ जना सडक बालकलाई सोधपुछ गर्दा नै उनीहरूमध्येकाले हत्या गरेको स्विकारे । मदिराले ल भएकी महिला देखेपछि उक्त समूहका १७ वर्षका किशोरले शारीरिक सम्पर्क राखेका थिए । पछि पोल खुल्ने डरले सो समूहका ४ बालबालिका मिली महिलालाई निधारमा ढुंगाले प्रहार गरी हत्या गरिदिए । प्रहरीले चारै जनालाई बाल हिरासतमा राखी मुद्दा अघि बढाएको छ ।

***

०७७ चैत २१ गते बनेपामा अर्की एक महिलाको पनि हत्या भयो । अत्यधिक मदिरा सेवन गरेकी ती महिलाले आफूहरूलाई चोरीको आरोप लगाएको झोकमा सडक बालकहरू मिली बनेपा बसपार्कको पश्चिमपट्टि सडक पेटीमा कञ्चट, छातीलगायत शरीरका विभिन्न संवेदनशील अंगहरूमा प्रहार गरी हत्या गरेका थिए । भक्तपुरको सूर्यविनायक–८ सिपाडोलबाट पक्राउ परेका एक सडक बालकले हत्या स्विकारे ।

***

रिसको झोकमा, सामान्य वादविवाद हुँदैमा सडक बालबालिकको समूहले दुई महिलाको हत्या गरेको खुलेको हो । प्रायः सडक बालबालिका चोरीका घटनामा संलग्न हुँदै आएपनि पछिल्लोपटक जघन्य अपराध समेत गर्न थालेका हुन् । माथिका दुई घटनाले पनि यही संकेत गर्छ ।

नेपाल एकेडेमी अफ साइकोलोजीका निर्देशकसमेत रहेका साइकोथेरापिस्ट उमंगजंग शाह मानिसमा जन्मजात नै केही गुण हुने तर्क गर्छन् । ‘मानिसमा जन्मजात नै इगो, सुपर इगो हुन्छ । पारिवारिक वातावरण, नैतिक शिक्षा आदिले त्यसमा प्रभाव पार्छ,’ उनले भने, ‘उचित व्यवस्थापन हुन सकेन भने बालबालिका पनि आपराधिक काममा संलग्न हुन सक्छन् ।’ जिल्ला प्रहरी प्रमुख एसपी भूपेन्द्रबहादुर खत्रीका अनुसार विभिन्न कारणले बालबालिका सडकमा आइपुग्छन् ।

‘गरिबी, परिवारमा बेमेल, बाबुआमाको पारपाचुके, रहनसहन, देखासिकीलगायतका कारणले बालबालिका सडकमा आइपुग्ने रहेछन्,’ सिविन नामक गैरसरकारी संस्थाले सन् २०१०–११ मा गरेको सर्वेक्षणमा प्रहरीका तर्फबाट सहभागीसमेत भएका खत्रीले भने, ‘उचित माया र समय दिन नभ्याउने भएकाले घराना, उच्च पदस्थका छोराछोरी पनि सडकमा आएको पाइएको थियो ।’ खत्रीका अनुसार, स–साना चोरीका घटनामा संलग्न हुँदै सडक बालबालिकालाई विभिन्न स्वार्थ समूहले उनीहरूलाई आपराधिक काममा प्रयोग गर्छन् । चोरी, डकैती, गोप्य सूचना लिन, आन्दोलनसहित अन्य अपराधमा बालबालिकालाई संलग्न गराउने गरिएको पाइएको छ ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र बनेपा, पनौतीलगायतका स्थानमा सडक बालबालिका रहेका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बनेपा र आसपासको क्षेत्रबाट असोजयता ९ जना सडक बालबालिकालाई खोजतलास केन्द्रको जिम्मा लगाइएको बताए । ‘चोरीका क्रियाकलापमा संलग्न पाइएपछि उनीहरूलाई सुधार केन्द्रमा पठाउने गरेका छौं,’ तिमिल्सिनाले भने ।

प्रकाशित : वैशाख ६, २०७८ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?