३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

काभ्रेका ५८ सामुदायिक वनमा डढेलो, नियन्त्रण गर्न ३ लाख मात्र

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेका ५८ वटा सामुदायिक वनको एक हजार ३० हेक्टर क्षेत्रमा डढेलो लागेको छ । तर जिल्लाभर डढेलो नियन्त्रणका लागि बजेट भने ३ लाख रुपैयाँ मात्रै छ ।

काभ्रेका ५८ सामुदायिक वनमा डढेलो, नियन्त्रण गर्न ३ लाख मात्र

७५ हजार हेक्टर वन क्षेत्र रहेको जिल्लामा डढेलो नियन्त्रणको लागि संघीय सरकारको सशर्त कार्यक्रममार्फत प्रदेश सरकारले डिभिजन वन कार्यलयलाई पठाएको बजेट नगन्य छ ।

‘संघ र प्रदेश सरकारको बजेट निकै न्यून छ, स्रोत र जनशक्ति बढाउने हो भने प्रतिफल अझ दिन सकिन्थ्यो,’ डिभिजन वन अधिकृत देवीचन्द्र पोखरेलले भने, ‘७५ हजार हेक्टर वन क्षेत्र रहेको काभ्रेमा सो बजेटले केही गर्न सकिदैन, स्थानीय तहले पनि त्यसको लागि बजेट छुट्याएर पहल लिने हो भने त्यो अझ प्रभावकारी हुन्छ ।’ डिभिजन वन कार्यलय काभ्रेका सूचना अधिकारी समेत रहेका सहायक वन अधिकृत न्हुच्छेकृष्ण श्रेष्ठका अनुसार संघीय सशर्त कार्यक्रममार्फत प्राप्त रकम मध्येबाट ६ सेट सामान खरिद गरी वितरण गरिएको छ ।

धुलिखेलको कालीजंग गण, पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गण, भकुण्डे, चौवास, तालढुंगा र वनखुचौरमा रहेका प्रहरी इकाइलाई आगो निभाउने, पत्कर सोहर्ने, खन्नको लागि सावेल, पिक, चाँदे, बञ्चरो, लुगा, पञ्जा लगायतका सामाग्री हस्तान्तरण गरेको श्रेष्ठले जानकारी दिए । ‘औजार खरिदको लागि आएको १ लाख रकममा केही थप गरी सामान खरिद गरेका हौं, गतवर्षको मौज्दात समेत गरी ६ सेट सामान तयार गरी हस्तान्तरण गरेका हौं,’ श्रेष्ठल भने, ‘स्थानीय एफएम, रेडियोमार्फत सन्देशमूलक सूचना प्रशारण गर्ने, प्रचारप्रसार गर्ने लगायतका काम पनि गरिरहेका छौं ।’

वन अधिकृत पोखरेल डढेलो नियन्त्रणका लागि जनचेतना नै प्रमुख कुरा रहेको बताउँछन् । ‘पछिल्लो समय लागेका डढेलो मानवीय कारणले हो, प्राकृतिक हैन,’ पोखरेलले भने, ‘शिकार गर्न, घाँस पलाउँछ भन्ने लोभमा र दुःख दिने नियतले र कुनै अवस्थामा असावधानीवश पनि डढेलो लागेका हुन् ।’ सचेत हुँदाहुँदै पनि व्यक्तिले विभिन्न कारणले वन डढेलो लगाउने उनले दाबी गरे । स्रोतको लागि स्थानीय तहले सहकार्य गरेर अग्नी रेखा बनाउने लगायतका प्राविधिक काममा आफू सघाउन तयार रहेको उनले बताए ।

जिल्ला वन सुरक्षा समितिका संयोजक समेत रहेका प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले सीमित स्रोतका बाजजुद नियन्त्रणका लागि अधिकतम् प्रयास गरेको बताए । ‘स्रोत कम भएको कुरा सत्य हो तर यो स्रोत भएर मात्रै पनि नियन्त्रण हुने विषय हैन,’ पोखरेलले भने, ‘भएको स्रोत र जनशक्ति परिचालन गरेर नियन्त्रणका प्रयास भएका छन्, मानिस आफैं सचेत नभएपनि केही हुँदैन ।’ स्थानीय तहसँग समन्वय गरेर दमकल, जनशक्ति परिचालन गरेको पोखरेलले जानकारी दिए ।

प्रकाशित : वैशाख ५, २०७८ १७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?