बाबुको हत्या आरोपी छोरा पक्राउ
सिन्धुली — बाबुको हत्या आरोपी छोरालाई सिन्धुली प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–१ गुराँसेका २१ वर्षीय प्रकाश हायुलाई आफ्नै बाबुको हत्या आरोपमा शनिबार पक्राउ गरिएको सिन्धुली प्रहरीका डीएसपी मनोजकुमार लामाले जानकारी दिए ।
उनी ११ दिन अघिदेखि फरार थिए । घटना विवरण अनुसार पक्राउ परेका हायूले चैत १७ गते आफ्नै बुबा ४६ वर्षीय सुरमान हायुलाई घरायसी वादविवादमा कुटपिट गरेका थिए । कुटपिटपछि घाइते सुरमानको दुई दिनपछि मृत्यु भएको थियो ।
बुबाको मृत्युपछि फरार रहेका प्रकाशलाई गुराँसे डाँडाको बाटोमा लुकिछिपी हिँडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी लामाले बताए ।
प्रकाशित : चैत्र २८, २०७७ १६:३०प्रतिक्रिया