दोरम्बा गाउँपालिकाको नाम फेरियो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा गाउँपालिकाको नाम फेरिएको छ । सरकारले दोरम्बा गाउँपालिकालाई दोरम्बा शैलुङ गाउँपालिका नामकरण गरेको छ ।

दोरम्बा गाउँपालिकाको नाम फेरियो

गाउँसभाबाट पालिकाको नाम संशोधन गर्ने प्रस्ताव पारित गरी नेपाल सरकारलाई अनुरोध गरिएको थियो । पालिकाका अध्यक्ष कमानसिं मोक्तानका अनुसार चैत २३ गतेको मन्त्रिपरिषद् बैठकले उक्त नाम संशोधन गर्ने निर्णय गरेको हो ।

तामाङहरुको बाहुल्यता रहेको दोरम्बा क्षेत्रमा पर्ने शैलुङ ऐतिहासिक र पर्यटनको हिसावले महत्वपूर्ण मानिन्छ । तामाङ भाषामा सै भनेको सय र लुङ भनेको थुम्का भन्ने अर्थ लाग्ने भएकोले पनि उक्त क्षेत्र तामाङ जातिका लागि विशेष महत्व राख्ने भएकाले पालिकाको नाममा शैलुङ थप्ने प्रस्ताव राखिएको थियो ।

यसअघि रामेछापको लिखु गाउँपालिकाको नाम संशोधन गरी लिखु तामाकोसी गाउँपालिका बनाइएको थियो ।

प्रकाशित : चैत्र २८, २०७७ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?