२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

गैंडा गणनामा परिचालित हात्तीलाई 'ध्रुबे' ले लखेट्यो, भागदौडमा केही गणक र माहुते घाइते 

रमेशकुमार पौडेल

चितवन — गैंडा गणनामा परिचालन गरिएका हात्तीहरुलाई जंगली हात्तीले लखेट्दा भएको भागदौडमा एक जना गणक गम्भीर घाइते भएका छन् । चितवन राष्ट्रिय निकुञ्जभित्र पश्‍चिम क्षेत्रको गैंडा खासा इलाकामा गणना भइरहँदा शुक्रबार दिउँसो तीन बजेतिर जंगली हात्ती ध्रुबेले गणनामा परिचालन भएका हात्तीलाई लखेटेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए ।

गैंडा गणनामा परिचालित हात्तीलाई 'ध्रुबे' ले लखेट्यो, भागदौडमा केही गणक र माहुते घाइते 

‘हात्ती लहरै जाँदा ध्रुबेसँग जम्काभेट भएछ । त्यसपछि त्यसले लखेट्दा हात्तीहरु दौडने क्रममा एकजना गणक राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहामा कार्यरत संरक्षण अधिकृत विनोद श्रेष्ठ घाइते हुनु भएको छ । उहाँलाई हेलिकप्टरमा राखेर थप उपचारका लागि काठमाडौं पठाइ सकिएको छ’ प्रमुख संरक्षण अधिकृत बरालले भने । श्रेष्ठको हात, खुट्टा, कम्मर र गर्धनमा चोट देखिएका कारण काठमाडौं पठाएको उनले बताए ।

दुईजना माहुते पनि घाइते भएका छन् । उनीहरुको कावासोतीको मध्यविन्दु अस्पतालमा उपचार भइरहेको बरालले बताए । अन्य चार पाँचजना गणक र माहुतेलाई पनि चोट पटक लागेको र उनीहरुको अवस्था त्यस्तो गम्भीर नभएको बरालले जानकारी दिए । चितवनमा निकुञ्जको पूर्वी सिमानाबाट चैत्र ९ गतेदेखि गैंडा गणना सुरु भएको थियो । हात्तीमाथि बसेर गणकहरु निकुञ्जको जंगलभित्र पस्दा अन्य वन्यजन्तु र जंगली हात्तीले आक्रमण गर्ने खतरा सधैं रहने गर्दछ ।

घटनापछि गणनामा परिचालन भएका अन्य तीनवटा हात्ती सम्पर्कमा आइनसकेको बरालले बताए । घटनापछि गणना स्थगित भएको थियो । ‘यस्तो दुखद् घटनापछि गणना जारी राख्ने सम्भावना भएन । शुक्रबारलाई रोकेका छौं । भोलि शनिबारदेखि सुरु गर्ने या नगर्ने बारेमा निर्णय भइसकेको छैन । ध्रुबे कता छ हेरेर निर्णय लिन्छौं’ बरालले भने । ध्रुबेको घाँटीमा रेडियोकलर भएका कारण कहाँ छ जानकारी लिन सकिन्छ ।

प्रकाशित : चैत्र २०, २०७७ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?