वाग्मती प्रदेशसभाको बैठक आह्वान- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेशसभाको बैठक आह्वान

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेशसभाको बैठक आह्वान गरिएको छ । पटकपटक सूचना टाँसेर स्थगित भइरहेको प्रदेशसभाको बैठक चैत २४ गते मंगलबारका लागि आह्वान गरिएको हो ।

प्रदेशसभा सचिवालयले शुक्रबार सूचना जारी गर्दै मंगलबार दिउँसो १ बजेका लागि बैठक आह्वान गरेको हो । मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेशसभाको बैठक अनिश्चित बनिरहेको थियो ।

तत्कालिन नेकपाका ४५ जना सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पुस १० गते दर्ता गराएका थिए । सर्वोच्चको पछिल्लो फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमा गरिएको हस्ताक्षर सांसदहरुले फिर्ता लिइसकेका छन् ।

प्रदेशसभा सचिवालयका अनुसार सभामुख सानुकुमार श्रेष्ठले सर्वदलिय छलफलपश्चात् बैठक आह्वान गरेका हुन् । बैठकका कार्यसूची भने अझै तय भएको छैन । तर, बैठकबाट अविश्वासको प्रस्ताव प्रक्रियागत ढंगबाट टुंग्याइने बुझिएको छ ।

प्रकाशित : चैत्र २०, २०७७ १५:२६
प्रतिक्रिया
पठाउनुहोस्

माइतीघरमा उभिएर प्रणालीसँग गुनासो गरिरहेका ‘एक्ला’ डाक्टर

फ्रन्टलाइनरको दुखेसो –‘हाम्रो श्रमको मूल्य खोइ ?’
‘म यहाँ आएको सरकारको ध्यानाकर्षण गराउनका लागि हो । म एक्लो व्यक्तिले केही फरक परोस् वा नपरोस् । म आफ्नो अधिकारका लागि लड्न आएको हुँ ।’ 
बुनु थारु

काठमाडौँ — बिहीबार साँझ ५ : १० बजे । स्थान : माइतीघर मण्डला । घर फर्किनेहरु बसको पर्खाइमा छन् । छिटो पुग्ने हतारोमा हर्न बजाउँदै गाडीहरु एकअर्कालाई उछिनिरहेका छन् । छेउकै सडकमा भने एक युवक शान्त मुद्रामा पम्पलेट बोकेर उभिइरहेका छन् ।

बाटोमा एक्लै उभिएको देखेर मानिसहरु उनलाई फर्कीफर्की हेरिरहेका छन् । कोही टक्क अडिएर पम्पलेटमा लेखिएको अक्षरमा आँखा दौडाउन थाल्छन् । ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना कृपया पाउने महानुभावले .... मा सम्पर्क गरिदिनुहोला, धन्यवाद । मास्क सेनिटाइजर र सामाजिक दूरी कायमै छ । तर तपाईंको नियत कायम छैन सरकार,’ ती युवकले हातमा लिएका दुईवटा फोटोकपी कागजमा लेखिएको छ ।

३१ वर्षीय डा. अजित मलिक ८ दिनदेखि माइतीघर मण्डलमा एक्लै धर्नामा छन् ।

९ महिनादेखि सिभिल अस्पतालको युरो डिपार्टमेन्टमा मेडिकल अफिसरको रुपमा कार्यरत डा. मलिक यसअघि वीर तथा त्रिवि शिक्षण अस्पतालमा पनि काम गरिसकेका छन् । कोरोना स‌ंक्रमण सुरु भएको बेला उनी शिक्षण अस्पतालमा कार्यरत थिए । उनले सिभिलमा मात्रै होइन, शिक्षण अस्पतालमा पनि कोभिड भत्ता पाएनन् ।

उनी दैनिक आफ्नो ड्युटी सकाएर माइतीघर आइपुग्छन् । छेउको हेल्मेट र बाइक देखाउँदै भन्छन् –‘ड्युटी तालिका मेरो गोजीमा हुन्छ । इमरजेन्सी पर्‍यो भने म कुदिहाल्छु । ड्युटीमा असर नपारी आवाज उठाउन यहाँ आएको हुँ ।’

कोरोना महामारीमा ज्यान जोखिममा राखेर खटिनुपर्ने त्यसमाथि श्रमको मूल्य नपाउँदा उनको मन पोलिरहेको छ । हरेक दिन श्रम शोषण भइरहेको छ भनेर पीडाबोध हुन्छ । डा. अजित भन्छन्, ‘सरकारको ध्यानाकर्षण गराउनका लागि हो । म एक्लो व्यक्तिले केही फरक पारोस् वा नपारोस् । म आफ्नो अधिकारका लागि लड्न आएको हो ।’

माइतीघरमा यसरी धर्ना बस्नेबारे उनले कसैलाई भन्न आवश्यक ठानेनन् । सञ्‍चारमाध्यम र सामाजिक सञ्‍जालमा तस्बिर देखेपछि दिनमा एक/दुई जना उनीप्रति ऐक्यबद्धता जनाउन आइपुग्छन् ।‘हिम्मतका साथ न्यायका लागि लडिरहेको छुँ। म कुनै संस्थासँग आएको होइन । कसैले मलाई केही भन्लान् भन्ने लागेन । आफूमा हिम्मत थियो र छ पनि,’ उनी भन्छन् ।

दैनिक कम्तीमा २ घण्टा धर्नामा बस्छन् अनि जान्छन् । कोभिड भत्ता नपाउनुमा अस्पतालसँग कुनै गुनासो छैन उनलाई । उनलाई गुनासो छ त प्रणालीसित,‘महिनाभरी ज्याला गर्छु र सरकारलाई कर तिर्छु । मेरो माग जायज छ । यति बोल्ने मेरो अधिकार हो ।’

दिनभर अस्पतालको काम, त्यसमाथि माइतीघरमा ८ दिनदेखिको उभ्याइले थकित देखिन्थे उनी । कसैले पानी ल्याइदिएर त कसैले 'थम्ब्स अप' मार्फत उनको मागप्रति समर्थन गर्छन् । बटुवाका यी हौसलाले पनि थकान मेटिएको अनुभव गर्छन् डा. अजित ।

‘एक्लै धर्ना बस्दा कोभिड भत्ता पाइएला त ?’ उनी भन्छन्, ‘आवाज उठाउन ठूलै समूह चाहिन्छ भन्ने छैन । म एक्लै भए पनि लडिरहेछु । मैले भत्ता पाउँला वा नपाउँला एक ठाउँमा छ तर मैले आफ्नो अधिकारका लागि आवाज उठाएको हुँ । ’

महामारीको समयमा यसरी श्रमशोषित हुनु आम स्वास्थ्यकर्मीको साझा समस्या भएको उनी बताउँछन् । ‘सायद मैले मात्र नपाएको हो कि अरुले पनि भत्ता पाउनु भएको छैन होला । अरु पनि श्रम शोषित हुनुभएको छ । बोल्न नखोज्नु भएको होला,’ उनी दुःखेसो पोख्छन् । उनका अनुसार आफ्नो पक्षमा उभिन नसक्नु पनि अपराध नै हो । श्रम शोषित हुनु पनि अपराध नै हो । नबोल्नु पनि अपराध नै हो ।

आजसम्म उनलाई धर्नामा साथ दिन अस्पतालका सहकर्मी कोही पनि आएका छैनन् । बाहिरी जिल्लाबाट उनको मागमा ऐक्यबद्धता जनाउन भने एक /दुई जना आउने गरेका छन् । एक जना डाक्टर त काभ्रेपलाञ्चोकबाट नै आएकी रहिछिन् ।

सधैँ सडकमा अजितलाई उभिएको देख्दा चिसो लाग्ला भनेर छेवैको पसलको बहिनीले तातो पानी ल्याइदिने गर्छिन् । ‘मानवता अझै छ तर सरकारमा रहनेछ । हामीप्रति संवेदनशील हुन सकेन,’ उनी भन्छन् ।

स्वास्थ्यकर्मीले महामारीमा अहोरात्र खटिएर बिरामीको सेवामा लागिरहँदा पनि श्रमको कदर नगरिएको उनको गुनासो छ । ‘नेपाल यस्तो ठाउँ हो जहाँ स्वास्थ्यकर्मीहरु बाटोमा आउनुपर्छ । उनीहरुको कुनै सम्मान छैन । अझैसम्म मागको कसैले सम्बोधन गर्ने कोसिस गर्नुभएको छैन,’उनी आक्रोश पोख्छन् ।

महामारी रोकथाम र नियन्त्रणमा फ्रन्टलाइनमा उभिनेलाई बेवास्ता गरिएकोमा दु:ख व्यक्त गर्दै उनी भन्छन्, ‘कसैले मेरो छोराछोरी डाक्टर छ भनेर भन्छन् भने गर्व नगर्नुहोला किनकी योभन्दा हेपिएको र श्रमशोषित कोही छैन । यो पेसामा खुसी छु भनेर कसैले भन्दैन ।’

असोजतिर उनी आफैलाई पनि कोरोना संक्रमण भयो । ‘कोरोनाको पहिलो लहर हुँदा बाँचियो, दोस्रो लहर आउँदैछ मरेर जाउँला , केही फरक पर्दैन तर आवाज उठाएर गएँ भन्ने हुन्छ,’ डा. अजित भन्छन्–‘जुलुस वा ठूला आन्दोलनमा मान्छे मर्दा सहिद हुन्छन् तर हामी मावनताको उपचार गर्दागर्दै मर्‍यो भनेर कसैले वास्ता गर्दैन ।’

‘मेरो पैसा अहिले दिनुस् म अहिले घर जान्छु । मैले पैसाका लागि लडेको होइन मेरो अधिकारको लागि लडेको हो,’ धर्ना सकेर फर्कंदै गर्दा उनले भने ।

महामारीको समयमा फ्रन्टलाइनमा खटिएर पनि भत्ता नपाउनु डा. अजितको मात्र समस्या होइन । देशैभरका स्वास्थ्यकर्मीका आवाज बनेका उनको यो खबरदारी ८औँ दिनसम्म आइपुग्दा पनि कसैले सुनेका छन् ।

सिभिल अस्पतालका निर्देशक डा. विद्यानिधि पौडेलले कोभिड भत्ता नपाउनु यो सबैको सामूहिक समस्या रहेको बताउँछन् । निर्देशक पौडेल भन्छन्,‘उहाँलाई मात्र भत्ता नदिइएको होइन । पैसा नै छैन भने कहाँबाट दिने? सरकारले पैसा छुट्याएको छ तर त्यसले सामान किन्नुपर्‍यो । हामीले आफै कमाएको पैसाले तलब दिनुपर्ने हुन्छ । त्यसैले समस्या भएको हो ।’

प्रकाशित : चैत्र २०, २०७७ १४:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×