कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्रसारण लाइन नबन्दा १९ मेगावाट विद्युत् खेर

दुई आयोजनालाई मासिक ६ करोड नोक्सान
टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको गोकुलगंगा गाउँपालिका १ चुचुरेमा निर्माण सकिएका दुईवटा विद्युत् आयोजनाबाट उत्पादित बिजुली प्रसारण लाइन नबन्दा खेर गइरहेको छ । मासिक झन्डै ६ करोड रुपैयाँको बिजुली खेर गइरहेको हो ।

प्रसारण लाइन नबन्दा १९ मेगावाट विद्युत् खेर

हिमालय ऊर्जा कम्पनीको लगानीमा निर्माण भएका माथिल्लो खिम्ती (७ मेगावाट) र उपल्लो खिम्ती (१२ मेगावाट) को परीक्षण पूरा भइसकेको छ । दोलखा र रामेछापको सीमा खिम्ती खोलाको पानी प्रयोग गरी यी आयोजनाले विद्युत् उत्पादन गर्दै आएका छन् । ‘हामीले बिजुली निकालेर झिलिमिली बनाइसकेका छौं,’ कम्पनीका संस्थापक निर्देशक सरोजकुमार उपाध्यायले भने, ‘केन्द्रीय ग्रिडमा जोड्न प्राधिकरणले प्रसारण लाइन बनाएन ।’ उपल्लो खिम्ती ३ महिनाअघि परीक्षण गरिएको हो भने माथिल्लो खिम्ती परीक्षण भएको ३ साता बितेको छ । दुवै आयोजनाको गरी हालसम्म आयोजनालाई ६ करोड आर्जन हुने बिजुली खेर गइसकेको उपाध्यायले बताए । उक्त दुई आयोजना करिब ३ अर्ब १५ करोड लगानीमा पूरा भएका हुन् ।

नेपाल विद्युत् प्राधिकरणले चुचुरेको गर्जाङमा सब–स्टेसन निर्माण गरी १ सय ३२ केभी प्रसारण लाइनमार्फत न्यु खिम्ती सबस्टेसनमा विद्युत् जोड्ने गरी काम गर्दै छ । निर्धारित समयमा आयोजनाको काम सकियो तर प्रसारण लाइन पूरा भएको छैन । प्रसारण लाइनको जिम्मा पाएको चिनियाँ ठेकेदार कम्पनीले भनेको समयमा विद्युत् टावरका सामान दिन नसक्दा काम बारम्बार प्रभावित हुँदै आएको हो ।

उपाध्यायका अनुसार गर्जाङदेखि न्यु खिम्तीसम्मको ३३ किलोमिटर प्रसारण लाइनमा १ सय ५ वटा टावर निर्माण गरी तार टाँग्नुपर्नेमा हालसम्म ७५ वटा टावर मात्र ठडिएका छन् । बनाइएका टावरमा समेत सबै काम पूरा गर्न सामग्री अभाव छ । काम पूरा नभएका टावरमा तार टाँग्नु हुँदैन । त्यसैले कुनै पनि टावरबाट तार टाँगिएकै छैन । उक्त आयोजनामा उत्पादित विद्युत् अन्य प्रसारणलाइनमा जोड्न सक्ने वैकल्पिक अवस्था हाललाई छैन । कम्पनीले आवश्यक सामग्री दियो र धमाधम काम भयो भने प्रसारण लाइनको काम पूरा गर्न अझै ३ महिना लाग्छ ।

प्रकाशित : चैत्र १९, २०७७ १३:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?