हेटौंडा-कुलेखानी-फर्पिङ सडक बुधबारदेखि सञ्‍चालनमा आउने

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग बुधबारदेखि संचालनमा आउने भएको छ ।   

हेटौंडा-कुलेखानी-फर्पिङ सडक बुधबारदेखि सञ्‍चालनमा आउने

भीमफेदी—कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्न माघ १० देखि चैत १० गतेसम्म सवारी साधन संचालनमा वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयले रोक लगाएको थियो । उक्त सडकमा फराकिलो बनाउने र ढलान गर्ने काम सकिएकोले बुधबारदेखि नियमित रुपमा यातायात सेवा संचालनमा आउने निर्देशनालय निर्देशक डा. सहदेव भण्डारीले बताए । कालोपत्रेका काम भने अझै सकिएको छैन ।

सडक खण्ड अत्यन्त जोखिमयुक्त भएकाले नालासहितको फराकिलो बनाउने कार्य प्रदेश सरकारले गरेको छ । निर्देशनालयका अनुसार १८ करोड लागतमा भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको ८ किलोमिटर सडक र १६ करोड लागतमा देउरालीदेखि कुलेखानीको हेभी चौरसम्मको साढे ७ किलोमिटर सडक स्तरोन्नति गरिएको छ ।

वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले चालु आर्थिक वर्षका लागि सडक मर्मत तथा स्तरोन्नति गर्न उक्त रकम विनियोजन गरेको थियो । यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा. भण्डारीले भीमफेदीदेखि कुलेखानीको हेभीचौरसम्म सडक खण्डलाई फराकिलो बनाउनुका साथै ढल र पर्खाल निर्माण गरिएको बताए । भीमफेदीदेखि कुलेखानीको हेभी चौरसम्म साढे १५ किलोमिटर सडकमा अहिले कालोपत्र गर्ने कार्य भइरहेको छ । आगामी जेठ मसान्तभित्रै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ निर्माण कम्पनीलाई निर्देशनसमेत दिइएको छ ।’

विगत २ महिना वैकल्पिक मार्ग भएर आवतजावत गर्ने सवारी साधनहरु त्रिभुवन राजपथ, चितवन—मुग्लिन नौबिसे सडक र कान्तिलोकपथ प्रयोग गरेका थिए । २ महिनासम्म वैकल्पिक राजमार्ग बन्द हुँदा त्यस क्षेत्रका होटल व्यवसायी र फलफूल एवं तरकारी उत्पादक कृषकहरु मारमा परेका थिए । उक्त छोटो मार्ग भएर हेटौंडा—काठमाडौं दैनिक ८ सयभन्दा बढी हलुका सवारी साधनहरु आवतजावत गर्नें गरेका छन् ।

प्रकाशित : चैत्र १०, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?