मकवानपुरमा जेष्ठ पत्रकारलाई पेन्सन

हेटौंडा — नेपाल पत्रकार महासंघ मकवानपुरले आफ्ना सदस्य रहेका जेष्ठ पत्रकारलाई मासिक पेन्सन वितरण सुरु गरेको छ ।

मकवानपुरमा जेष्ठ पत्रकारलाई पेन्सन

मकवानपुरका जेष्ठ पत्रकार नवराज शर्मालाई हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सोमबार पेन्सन बापतको पहिलो पटकको रकम एक समारोहबीच हस्तान्तरण गरे । करिब ४० वर्षसम्म पत्रकारिता गरेर निवृत जीवन बिताइरहेका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन रकम वितरण गरिएको हो ।

पत्रकार महासंघ मकवानपुर शाखाले ‘जेष्ठ पत्रकार पेन्सन कोष’ स्थापना गरेर २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका जेष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँ पेन्सन दिने व्यवस्था गरेको छ । उक्त कोषको रकमको ब्याजबाट पेन्सन दिने व्यवस्था गरेको पत्रकार महासंघ मकवानपुर शाखा अध्यक्ष हरि हुमागाईले बताए ।

पेन्सन वितरण कार्यक्रमका मेयर महतले उपमहानगरले कोषमा आगामी दिनमा केही रकम थप गरिदिने जानकारी गराएका थिए । पेन्सन कोष स्थापना गर्न उपमहानगरले गत वर्ष १० लाख रुपैयाँ उपलब्ध गराएको थियो । महासंघले कार्यविधि बनाएर कोष सञ्चालन गरेको छ । कार्यविधिमा सामाजिक सुरक्षा भत्ता, सरकारी निकाय, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल भए पेन्सन नदिने व्यवस्था गरेको छ ।

प्रकाशित : चैत्र ९, २०७७ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?