२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

एकीकरण मार्गमा पदयात्रा

नगेन्द्र अधिकारी

काभ्रे — नेपाल एकीकरणको समयमा काभ्रेमा प्रयोग भएका मार्गमा शनिबार पदयात्रा गरिएको छ ।

एकीकरण मार्गमा पदयात्रा

कोटहरुको पहिचान गरी संरक्षण, सम्वद्र्धन र सैनिक इतिहास प्रवद्र्धन गर्न काभ्रेमा नेपाली सेना तथा स्थानीय तहहरुको संयोजकत्वमा धुलिखेलबाट पनौतीसम्मको काभ्रे एकीकरण मार्ग पदयात्रा गरिएको हो ।

एकीकरणका लागि तत्कालीन समयमा सेनाले प्रयोग गरेका मार्गमध्ये धुलिखेलबाट देवीस्थान, काभ्रेकोट, चौकोट, शारदाकोट हुँदै पनौती रुटमा पदयात्रा भएको हो । वि.सं १८२० कात्तिक १० गते धुलिखेल विजयपश्चात चौकोट–शारदाकोट–गोरखनाथ हुँदै वि.सं १८२० कात्तिक ११ गते पनौती कब्जा गर्न प्रयोग गरिएको थियो ।

भ्रमण वर्ष २०२० को सन्दर्भ समेत पारेर गत वर्ष तय भएको कार्यक्रम कोरोना संक्रमणको कारण स्थगित भएको थियो । प्रधानसेनापती पूर्णचन्द्र थापाले शनिबार पदयात्रा उद्धघाटन गरेका थिए ।

पदयात्राकै क्रममा धुलिखेलस्थित देवीस्थानमा पृथ्वीनारायण शाहको सालिक अनावरण गरिएको छ । एकीकरणका सन्दर्भमा प्रयोग भएका कोट, गढीहरु जानकारी गराइएको थियो । पदयात्राको लागि ब्रिफिङ स्टल, मेडिकल प्वाइन्ट, खानेपानी प्वाइन्टका साथै स्थानीय तहबाट आफ्नो क्षेत्रको मौलिक कला तथा संस्कृति झल्कने झाँकीहरु समेत प्रदर्शन गरिएका थिए ।

कालीजंग गणका गणपति प्रमुख सेनानी मिलन थापाका अनुसार तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्ने क्रममा वि.सं १८०३ देखि वि.सं १८२० सम्म काभ्रे जिल्लामा प्रयोग गरिएका ६ वटा पदमार्ग पहिचान गरी नामाकरण गरिएको छ । ती पदमार्गले नगरकोट, नाल्दुम, महादेवपोखरी, अर्नकोट, पलाञ्चोकगढी, भवरकोट, तिमालकोट, धुलिखेल, चौकोट, शारदाकोट, गोरखनाथ, पनौती, खड्पु, बनेपा, साँगा, नाला लगायतका स्थान जोडेको छ ।

प्रकाशित : फाल्गुन २९, २०७७ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?