श्रीमान् बोकेर दौडिए महिला

रमेशकुमार पौडेल

चितवन — सीता थापा क्षेत्री ४५ वर्षको उमेरमा पहिलो पटक दौड प्रतियोगितामा सहभागी हुँदै थिइन् । पाको उमेरमा दौडन कस्सिएकी सीताले ५६ वर्षीय श्रीमान् बमबहादुरलाई पनि बोक्नु पर्दथ्यो । यी दम्पतीभन्दा कम उमेरका र छरिता जोडी पनि प्रतियोगितामा सामेल थिए । सय मिटर दौड्दा सीताको जोडी तेस्रो स्थानमा पर्‍यो । अनुभव नभए पनि आँट गर्दा सफल भइयो भन्दै सीताले खुसी प्रकट गरिन् ।

श्रीमान् बोकेर दौडिए महिला

देवघाट गाउँ विकास समितिले सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको कार्यक्रममा सीता जस्ता १४ दम्पतीले भाग लिए । विष्णु र पदमको जोडी सबैलाई उछिनेर पहिलो भयो । गंगा र नविन गुरुङको जोडी दोस्रो भयो । पाको उमेरका सीता र बमबहादुरले सबैलाई छक्क पार्दै तेस्रो स्थान प्राप्त गर्दा उजेली र भरत पन्तको जोडीले सान्तवना स्थानमा चित्त बुझायो ।

विजेताहरुले बधाईसँगै कप र प्रमाणपत्र पाए । अन्य सहभागीले रमाइलो माने, दर्शकहरु खुसी भए । देवघाट गाउँपालिकाले नै यस्तो प्रतियोगिता आयोजना गरेको हो । ‘यसले सन्देश दिन खोजेको हो । आधा आकाश ढाकेका महिला पुरुष जत्तिकै सक्षम छन् । शारीरिक क्षमतामा पनि कम छैनन् । पुरुषलाई बोकेर पनि दौडन सक्ने क्षमता छ भन्ने सन्देश प्रवाह होस् भनेर यस्तो कार्यक्रम राखेको हो’ देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा मगरले भने ।


यसरी दौडदा महिलाहरु परी आए जे पनि गर्न तयार हुन्छौं, लाज संकोच पनि मान्दैनौं भन्ने सन्देश जाने उनले बताए । गाउँपालिका अध्यक्ष थापाले भने, ‘श्रीमान् श्रीमतीको सम्बन्ध राम्रो छ । श्रीमान् बोकेर सार्वजनिक रुपमा दौडन पनि महिलाहरुलाई कुनै हिचकिचाहट छैन । कसले के भन्ला, खिसी ट्युरी गर्ला कि भनेर महिलाहरु पछाडि हट्ने छैनन् भन्ने यसले दखाउन सक्छ । उनीहरु पछि हट्ने हैन, श्रीमान्लाई पछाडि राखेर दौडन तयार छन् भन्ने देखाउँछ ।’

तेस्रो स्थान प्राप्त गरेका पाका सहभागी बमबहादुर थापा क्षेत्री पनि बुढेसकालमा पुरस्कारको लोभले भन्दा पनि महिलाहरुको उत्साह बढाउन आफूले खेलमा भाग लिएको बताए । ‘महिला दिवस हो । यस दिवसमा अलि फरक कार्यक्रम गर्दा महिलाको उत्साह बढ्छ भन्ने कुरा चल्यो । त्यसैले भाग लिएको हो । दौडन जानेर वा जित्ने नै छु भनेर आएको पनि हैन ।,’ बमबहादुरले भने ।

तस्बिरहरु : सम्झना रसाइली

गाउँमा पाका उमेरका महिलाबीच ‘म्युजिकल चेयर’ जस्ता रमाइला कार्यक्रम हुने गर्दछन् । आफूहरुले म्युजिकल चेयरसँगै श्रीमानलाई बोकेर महिलाहरु दौडने प्रतियोगिता पनि राखेको गाउँपालिका अध्यक्ष थापाले बताए । ‘हामीले यसरी पहिलो पटक कार्यक्रम गरेको हो । अब आउँदा दिनमा पनि यस्ता कार्यक्रमहरु गर्ने नै छौं । सजिला र रमाइला गतिविधि गर्दै महिलाको मनोबल पनि बढाउने उद्देश्य राखेका हौं,’ अध्यक्ष थापाले भने ।

प्रकाशित : फाल्गुन २४, २०७७ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?