काभ्रेमा एमालेको कार्यालय सञ्चालन- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा एमालेको कार्यालय सञ्चालन

नगेन्द्र अधिकारी

काभ्रे — काभ्रेमा साविक एमालेको कार्यालय सञ्चालनमा ल्याइएको छ । सर्वोच्च अदालतले साविक एमाले र माओवादी केन्द्र नै अस्तित्वमा रहेको फैसला गरेपछि एमालेको नाममा पार्टी कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका नेता कार्यकर्ताले एमालेको साइनबोर्ड राखेर सञ्चालनमा ल्याएका हुन् । ओली पक्षका जिल्ला अध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठ, जिल्ला कमिटीका सदस्य, युवा, विद्यार्थी नेता कार्यकर्ताको उपस्थितिमा साविक कार्यालय सञ्चालनमा ल्याइएको हो ।

प्रतिनिधिसभा विघटनको विषयमा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्ष विभाजित भएपछि साविक एमालेको उक्त कार्यालय ओली समूहका नेता कार्यकर्ताले अर्को ताला थपेर कब्जामा लिएका थिए ।

एकतापछि बनेका जिल्ला अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबा दाहाल -नेपाल समूहमा छन् । ओली पक्षले साविक एमालेका उपाध्यक्ष अशोककुमार व्यान्जु श्रेष्ठलाई अध्यक्ष बनाएर सांगठनिक गतिविधि गर्दै आएको छ ।

प्रकाशित : फाल्गुन २४, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्

जसपाले बोलायो संसदीय दलको बैठक

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार दिउँसो एक बजे दलको बैठक बोलाएको जसपाका नेता राजकिशोर यादवले जानकारी दिए । पछिल्लो राजनीतिक अवस्था र आगामी दिनमा संसदमा खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाएको उनले बताए ।

प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको संसद् बैठक र सरकारको नेतृत्व गरिरहेको नेकपामा आएको विवादपछि आफ्नो दलले संसद् र सरकारमा कस्तो भूमिका खेल्ने भन्ने रणनीतिबारे छलफल गर्न दलको बैठक बोलाएको यादवले बताए ।

'समग्रमा राष्ट्रिय राजनीतिबारे छलफल हुन्छ त्यो भनेको सरकार गठन पनि पर्छ । मुख्यतः संसद्‌भित्र जसपाले के भूमिका खेल्न सक्छ भन्ने किसिमले कुराकानी हुन्छ,' यादवले भने ।

आफूहरू प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै आन्दोलनमा गएको र पुनःस्थापना भएपछि त्यसका बारेमा दृष्टिकोण पनि दलको बैठकले तय गर्ने उनको भनाइ थियो ।

सर्वोच्च अदालतले सत्तारुढ नेकपा नामको आधिकारिताबारे आइतबार फैसला गरेको थियो । जसमा नेकपा दल ऋषि कट्टेलको हो भनेको थियो । त्यसका साथै साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

यस्तो अवस्थामा संसद्मा पनि सरकार निर्माणका लागि नयाँ गठबन्धन बन्न सक्ने अवस्था बनेको छ । यसबारे पनि दलहरू आन्तरिक र द्विपक्षीय छलफलमा जुटेका छन् ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण गरेर जसपा बनेपछि पहिलो पटक संसदीय दलको संयुक्त बैठक बस्न लागेको हो ।

प्रकाशित : फाल्गुन २४, २०७७ १४:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×