मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म साइकल यात्रा

प्रताप विष्ट

मकवानपुर — आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र ऐतिहासिक गढीहरुको संरक्षणका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउने उद्देश्यले मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म शनिबारदेखि साइकल यात्रा सुरु गरिएको छ ।

मकवानपुरगढीदेखि सिन्धुलीगढीसम्म साइकल यात्रा

मुख्यमन्त्री डोरमणि पौडेलले शनिबार मकवानपुरगढीमा साइकल यात्री पुस्कर शाहलाई साइकल र राष्ट्रिय झण्डा हस्तान्तरण गरेर साइकल यात्राको शुभारम्भ गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि एवं मुख्यमन्त्री पौडेलले साइकल यात्रीहरुलाई उत्साह भर्न साइकल पनि डोर्‍याएका थिए । शुभारम्भ कार्यक्रमका मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर लामिछानेले साइकल यात्रीहरुको स्वागत गर्दै ऐतिहासिक गढीको बारेमा जानकारी गराएका थिए ।

वाग्मती प्रदेश सरकारको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयोजकत्वमा गढीदेखि गढीसम्मको साइकल यात्रा आयोजना गरिएको हो । उद्योग पर्यटन मन्त्रालय, गढी गाउँपालिका, बाटोमा पर्ने स्थानीय तह, जिल्ला खेलकुद विकास समिति, राइडर्स क्लब, साइकल संघ र पंर्वतीय खेलकुद महासंघको साझेदारीमा आयोजित उक्त साइकल यात्रीहरुको धरान—चतराअन्तर्गत पर्ने हेटौंडा—फापरबारीको सडकखण्ड हुँदै शनिबार बेलुका सिन्धुलीको हरिहरपुरगढी पुगेर बाँस बस्ने मन्त्रालयका सचिव डा. सिन्धुनाथ ढुंगानाले बताए ।

आइतबार साइकल यात्रुहरु सिन्धुलीगढी पुगेर आफनो यात्रा समापन गर्ने छन्। चर्चित साइकल यात्री पुस्कर शाहको अगुवाइमा ३ जना महिलासहित १ सय २२ जना साइकल यात्रीहरु मकवानपुरगढीबाट यात्रा सुरु गरेको मन्त्रालय उपसचिव नवराज पुडासैनीले बताए ।

मकवानपुरगढीबाट सिन्धुलीगढीको दूरी १ सय ३१ किलोमिटर रहेको छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र गढीहरुको पहिचान र संरक्षण गराउने उद्देश्यले गढीदेखि गढीसम्मको साइकल यात्रा सुरु गरेको मन्त्रालयका सचिव ढुंगानाले बताए । ‘मन्त्रालयले उक्त कार्यलाई विस्तारसहित निरन्तरता दिने छ,’ उनले भने । साइकल यात्राका निम्ति साढे ११ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन २२, २०७७ १३:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?