कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

रसुवागढीबाट १३ महिनादेखि आयात–निर्यात ठप्प

सुरूमा हिमपात र ल्होसारका कारण आयात बन्द थियो, पछि कोरोना र हाल अन्य बहानाले नाकाबाट आवतजावत प्रभावित बनिरहेको छ
बलराम घिमिरे

रसुवा — चिनियाँ ल्होसार पर्वका कारण रसुवागढी नाकाबाट ठप्प भएको आयात अझै सुरु हुन सकेको छैन । माघ २९ देखि आयात ठप्प छ । त्यसअघि नाकाबाट दैनिक पाँच कन्टेनर मात्र चिनियाँ सामान आयात भइरहेको थियो ।

रसुवागढीबाट १३ महिनादेखि आयात–निर्यात ठप्प

नाकाबाट सामान आयात हुने विषयमा चिनियाँ भन्सार अधिकारीहरूबाट सोमबार बिहानसम्म कुनै पनि जानकारी नआएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए । ‘सोमबार बिहान पनि नाकामा पुगेको हुँ । सामान आयात भएको छैन,’ उनले भने, ‘आयात हुन अझै केही दिन लाग्ला ।’ रसुवागढीबाट आयात–निर्यात प्रभावित भएको एक वर्ष भइसकेको छ । अघिल्लो वर्षको माघ १५ देखि नै रसुवागढी नाकामा चीनबाट हुने आयात रोकिएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात बन्द थियो । पछि कोरोना देखापरेपछि नाकाबाट आयात थप प्रभावित बनेको हो । पटक–पटक नाकाबाट आयात ठप्प हुँदा सयौं व्यवसायीका अर्बौं मूल्य बराबरका सामान चीनतर्फ रोकिएका छन् ।

निर्यात पनि १३ महिनायता ठप्प छ । नेपाली कन्टेनर सामान लिन केरुङ जान नपाएको १३ महिना भयो । अगस्टदेखि नै व्यापारीले ल्याएका सयौं कन्टेनर सामान केरुङभन्दा माथि खासा, न्यालम धिङ्ग्री, सिगात्सेलगायत ठाउँमा गोदाममै थन्किएको व्यापारी धर्म पौडेलले जानकारी दिए ।

बाटोमै रोकिएका सामान पनि जाडो सिजनका हुन् । आयात ठप्प हुँदा गर्मीका सामान पनि समयमै आउन नसक्ने चिन्ता थपिएको व्यवसायी बताउँछन् । मुसा ट्रान्सपोर्टेसनले केरुङका लागि गोन्जाउबाट सामान रिसिभ गर्न थालिसकको छ । तर केरुङभन्दा माथि रोकिएका सामान ल्याउन कतैबाट पनि पहल नभएको व्यवसायीको गुनासो छ । बारम्बार आइरहने यस्ता समस्याका कारण व्यवसायी मर्कामा छन् ।

१३ महिनादेखि केरुङमा नेपालीका १८ वटा खाली कन्टेनर रोकिएको चेम्बर अफ कमर्स रसुवाका अध्यक्ष सञ्जीव अमात्यले बताए । चालु आर्थिक वर्षका सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षमा ११ अर्ब ३३ करोड ७५ लाख २९ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर साउनदेखि माघसम्ममा २ अर्ब ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको छ । न्यून सामान आयात हुँदा राजस्व संकलन प्रभावित भएको रसुवा भन्सारका प्रमुख अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए ।

चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ । रसुवागढी चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । रसुवागढी नाकाबाट तयारी कपडा, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाको जुत्ता, मोटरको ब्याट्री, यूपीएसलगायत मुख्य वस्तु आउने गरेका थिए ।

मुस्ताङको लोमान्थाङ–६ मा पर्ने कोरला नाका र पृष्ठभूमिमा चिनियाँ सुक्खा बन्दरगाहका पूर्वाधार । फाइल तस्बिर ः कान्तिपुर

प्रकाशित : फाल्गुन १८, २०७७ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?