तेक्वान्दोमार्फत जसले बोटे समुदायलाई चिनाए

रमेशकुमार पौडेल

चितवन — जितेन्द्र बोटे र स्वस्तिका बोटे अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी हुन् । उनीहरूले देशको नामसँगै आफ्नो समुदायलाई पनि चिनाए । बोटे समुदाय अल्पसंख्यक आदिवासी जनजातिमा पर्दछ । नदी र खोला किनारमा मुख्य बसोबास भएको यो समुदायको परम्परागत पेसा डुंगा चलाउने र माछा मार्ने हो । मौका पाए सबै क्षेत्रमा सफल हुनसक्ने जितेन्द्र र स्वस्तिकाले सिद्ध गरेका छन् ।

तेक्वान्दोमार्फत जसले बोटे समुदायलाई चिनाए

नेपाल बोटे समाज महिला विभाग संयोजक बिना बोटेका अनुसार ०६८ को जनगणनामा नेपालभर बोटे समुदायको जनसंख्या १० हजार हाराहारीमा छ । चितवन, नवलपरासी, तनहुका साना–ठूला नदी र खोला आसपासमा बोटे समुदायको मुख्य बसोबास रहेको बिनाले बताइन् ।

जितेन्द्रको घर चितवन माडी नगरपालिका–९ रिउ खोला आडमा पर्ने गणेशकुञ्ज हो । स्वास्तिका राप्ती खोला आडमा पर्ने भरतपुर–२२ पटिहानीमा बस्छिन् । जितेन्द्रले १३ औं दक्षिण एसियाली खेलकुदमा तेक्वान्दोको २४–२९ वर्ष उमेर समूहको पुम्सेमा टिम र युगलतर्फ कांस्य पदक जितेका थिए । स्वस्तिकाले सन् २०१९ को पाँचौं हिरोज तेक्वान्दो इन्टरनेसनल च्याम्पियनसिपमा कांस्य जितेकी थिइन् । थाइल्यान्डमा भएको तेक्वान्दो प्रतिस्पर्धामा स्वस्तिकाले १३–१६ वर्ष उमेरको ४६ केजी तौल समूहमा उक्त पदक जितेकी हुन् । जितेन्द्रले खेल्न थालेको ६ वर्ष र स्वस्तिकाले खेल्न थालेको ५ मात्रै भएको छ ।

जितेन्द्र नेपाल प्रहरीका जागिरे हुन् । उनी ७० सालमा प्रहरीमा भर्ना भए । ७१ सालदेखि तेक्वान्दोको प्रशिक्षण सुरु गरे । ‘चाहना त सानैदेखि खेल्ने थियो । सिनेमा हेर्दा, समाचारहरू सुन्दा कराते, बक्सिङ, तेक्वान्दो खेलौं, सिकौंझै लाग्दथ्यो । तर गाउँमा बस्दा सिक्ने, खेल्ने अवसर र सम्भावना नै थिएन । प्रहरीमा जागिर सुरु गरेपछि तेक्वान्दो सिक्न खेल्न पाइन्छ भनेपछि तालिम सुरु गरें,’ जितेन्द्रले भने ।

जागिरे जीवनपछि सुरु गरेको खेलकुदले देशको मात्रै नभएर आफ्नो समुदायलाई पनि चिनाउने अवसर दिएको उनले सुनाए । ‘हाम्रो समुदायबाट प्रहरीमा जागिर खानेहरू कहींकतै फाट्टफुट्ट त रहेछन् । तर खेलाडीहरू खासै भेटिन्न । मलाई अरू खेलाडीहरूले बोटे भनेको कुन जात हो, कहाँ बस्छन् भनेर पनि सोध्ने गर्थे । हाम्रो समुदाय नै यो क्षेत्रमा गुमनाम जस्तो पो रहेछ । खेलकुदले देशको सेवा र समुदाय चिनाउने अवसर दियो,’ सम्मानित जितेन्द्रले भने ।

जितेन्द्रकी श्रीमती कोपिला तमाङ पनि प्रहरीमा छन् । नुवाकोटकी कोपिलाले जागिरे जीवनभन्दा पहिलादेखि नै तेक्वान्दो खेल्न थालेकी थिइन् । प्रहरीमा आएपछि थप तालिम लिने क्रममा खुट्टामा गहिरो चोट लागेपछि खेलजीवनलाई उनले अगाडि बढाउन सकिनन् । तर पेसा र रूचि एकै भएको जितेन्द्रलाई जीवनभर हौसला दिएर सफल खेलाडी बनाउने चाहना मनभरि बोकेकी छन् । उनीहरूले बिहे गरेको माघमा एक वर्ष पुग्यो । ‘उहाँसँग देखभेट चिनजान, मायाप्रेम भयो । तर सुरुमा मलाई पनि यो बोटे भन्ने अलग्गै जात हुन्छ भन्ने थाहा थिएन । मगरभित्रकै ‘थर’ होला भन्ने लागेको थियो । बिहेभन्दा केही समयअघि हो बोटे भनेको अलग्गै जात हो भन्ने थाहा पाएको हुँ,’ कोपिलाले भनिन् । जितेन्द्रले थपे, ‘आफ्नो यति नजिकको मान्छेलाई त बोटे भन्ने थाहा पाउन समय लाग्यो । यसैले थाहा हुन्छ हाम्रो समुदायको पहिचान कति संकटमा छ ।’

बोटेको जहाँ बसोबास छ त्यहाँका बासिन्दाले उनीहरूलाई माछा मार्ने र डुंगा चलाउने समुदायको रूपमा मात्र चिनेको छ । बसोबास नभएको ठाउँमा बोटे भन्ने नै थाहा छैन । ‘अब यो समुदायको नाम यस्तै खेलाडीहरूले चम्काउने छन् । पुरानो पेसा मात्रै गर्ने हैन, अवसर पाए देशकै लागि शिर ठाडो पार्ने काम गर्न सक्छन् भन्ने जितेन्द्र र स्वस्तिकाले प्रमाणित गरेका छन्,’ नेपाल बोटे समाज चितवनका अध्यक्ष इन्दिरा बोटेले भनिन् ।

नेपाल बोटे समाज चितवन शाखाको आयोजनामा पहिटानी र माडी वनकट्टा गाउँ इकाइसमेतले उनीहरू दुवैलाई सोमबार माडीमा सम्मान गरेको हो । जितेन्द्रले १२ हजार र स्वस्तिकाले ८ हजार रुपैयाँ थापे । ‘यो पैसा हाम्रो समुदायबाट नै उठाइएको हो । अझ माछा मार्न जस्ले लाइसेन्स लिएको छ ती बोटेहरूले मनैदेखि सहयोग गरे,’ बोटे अगुवा मित्रलाल बोटेले सुनाए । पुर्खाहरू माछा मार्न र डुंगा चलाउन खोला र नदीका आडमा नै बसेका हुनाले कृषि कर्ममा लाग्ने बोटेहरू निकै कम छन् । अहिले डुंगा चलाउने व्यवसाय नै बन्दजस्तो भयो ।

खोला र नदीमा माछा निकै कम भएको छ । भएका ठाउँमा पनि माछा मार्न बन्देज लाग्दछ । शिक्षामा कमजोर हुँदा र आर्जनका अन्य उपाए नहुँदा बोटेहरू धेरै क्षेत्रमा पछाडि पारिएका छन् । तर सानो अवसर पनि सदुपयोग गरेर देश र समुदायकै नाम राख्न सक्ने उदाहरण जितेन्द्र र स्वस्तिकाले दिएको मित्रलाल बताउँछन् ।

प्रकाशित : फाल्गुन १३, २०७७ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?