कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

धादिङमा मसाल जुलुसमा प्रहरी हस्तक्षेप, झडपमा २ प्रहरीसहित ३ जना घाइते

हरिहरसिंह राठौर

धादिङबेंसी — नेकपा दाहाल नेपाल समूहका नेता, कार्यकर्ताहरुले सदरमुकाम धादिङबेंसीमा बुधबार साँझ निकालेको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बिहीबारका लागि आह्वान गरिएको आम हड्तालको पूर्वसन्ध्यामा निकालिएको मसाल जुलुस पुछारबजारमा समापन हुन लागेको बेला प्रहरीले रोक्न खोजेको थियो ।

धादिङमा मसाल जुलुसमा प्रहरी हस्तक्षेप, झडपमा २ प्रहरीसहित ३ जना घाइते

त्यसक्रममा केहीबेर झडप हुँदा प्रहरी निरीक्षक अरुणकुमार कुशवाह तथा प्रहरी जवान हेमला गुरुङ घाइते भएका छन् । आन्दोलनकारीतर्फ नेकपा नेता लक्ष्मण रम्तेल सख्त घाइते भएका छन् ।

नेकपा नेता रामबहादुर भण्डारीका अनुसार धादिङबेंसीको शिरानबजारबाट सुरु गरिएको मसाल जुलुस क्याम्पस चोक, वीचबजार, शान्तबजार हुँदै पुछारबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

प्रहरी सँगको झडपमा गम्भीर घाइते भएका रम्तेललाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि काठमाडौं पठाइएको नेकपा नेता विजय बुर्लाकोटीले बताए । उनको टाउकोमा गम्भीर चोट लागेको छ ।

त्यस्तै गजुरीमा नेकपा इन्चार्ज एवम्‌ वाग्मती प्रदेशमा हालै राजीनामा दिएका कानुन मन्त्रीशालिकराम जम्कटेलको नेतृत्वमा मसाल जुलुस निकालिएको थियो भने मलेखु बजार तथा कटुन्जेको रिङ्नेबजारमा पनि मसाल जुलुस आयोजना गरिएको थियो ।


प्रकाशित : माघ २१, २०७७ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?