जुनार बगैंचामा रोगको प्रकोप, किसान मारमा

काठमाडौँ — जिल्लामा केही वर्षदेखि जुनारलगायतका अमिलो जातको फलफूल कुहाउने औंसाको प्रकोप बढ्दो छ । कृषि प्राविधिकहरुका अनुसार उक्त रोग सिट्रस हो । उक्त रोग लागेपछि फलभित्र विकास हुने औसाले फलको रस चुसेर फल कुहाउने गर्छ । औंसाले रस सकेपछि फल पाक्नु अगावै झर्छ । 

जुनार बगैंचामा रोगको प्रकोप, किसान मारमा

जिल्लामा व्यावसायिक जुनार बगैंचामा यसको प्रकोप छ । ओख्रेनीका जुनार किसान युवराज पाख्रिनले उक्त रोग विनासकारी रहेको बताए । ‘हामी कोभिडलाई विपत भनेर भन्छौं ’, पाख्रिन भन्छन् – 'फलको लागि औंसा मानिसलाई कोभिडभन्दा पनि चर्को रुपमा देखा परेको छ ।' यसलाई पनि विपत सम्झेर कार्यक्रम ल्याउनु पर्ने उनको माग छ ।

पाख्रिनका अनुसार वर्षको ४ लाखसम्म जुनार बिक्रीबाट कमाउने किसानले अहिले २०/३० हजारमा चित्त बुझाउनु परेको छ । ओख्रेनीकै राम्रो मानिने बगैंचाको रुपमा लक्ष्मण तामाङको बगैंचा पनि एक थियो, उनले वार्षिक ३ लाखभन्दा बढी जुनारबाट कमाउँथे । पाख्रिन भन्छन् – 'केही वर्षदेखि जुनार झरेर सखाप हुन्छ । बजार लैजाने बेलासम्म उनको बगैंचाका रुखमा जुनार नै रहँदैन ।'

सिट्रस अर्थात् औंसालाई फलमा लाग्ने क्यान्सर समेत भन्ने गरिन्छ । उक्त रोगको लक्षण देखिएपछि पूर्ण निदान गर्न सकिँदैन । 'रोकथाम हुन्छ पूर्ण निदान छैन,' कृषि प्राविधिक ऋषि सुवेदीले भने । सुवेदीका अनुसार अभियानको रुपमा किटनासक विषाधि छर्न सक्यो भने औंसाले फल कुहाउने समस्या कम हुन्छ । तर त्यसको लागि एकादुई किसानको प्रयासले पुग्दैन ।

जिल्लामा रहेको कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकी परियोजनाले जुनार जोन कार्यक्रममार्फत गोडमेल, रोग किराको नियन्त्रण लगायतका कार्य गर्दै आएका छन् । ‘केही न केही काम भएको छ, तर यो काम रोगको अघि पर्याप्त छैन’, भालुखोपका किसान मोहन श्रेष्ठले बताए । श्रेष्ठका अनुसार ५ वर्ष अघिको जुनारको अवस्था र अहिलेको अवस्थामा धेरै फरक आएको छ ।

जिल्लामा जुनारको उत्पादनको खासै तथ्यांक छैन । कृषि विकास कार्यालय रहुन्जेल यसको तथ्य संकलन गर्ने गरिएको थियो । ज्ञान केन्द्रले कृषि प्रविधि र तालिम लगाएको कुरामा जोड दिने हुँदा तथ्यांक र खेती प्रणालीमा सुधारका कार्य हुन छोडेका छन् ।

'बजार र उचित भाउ भएका बेला जुनार नराम्रो भयो,' कटुन्जेका किसान भुलबहादुर मोक्तानले भने । उनले पहिले बोकेर ३ घण्टा टाढा लादा १ रुपैयाँ दानामा बिक्री हुने जुनार आजभोली घरमै १० रुपैयाँ दानामा बेच्न सकिने अवस्था छ । बजारमा जुनार प्रति केजी ६० देखि ८० रुपैयाँसम्म पर्छ ।

रामेछापका दक्षिणी भेगमा सुकाजोर, ओख्रेनी, सालु, रामपुर, रामेछाप, भलुवाजोरजस्ता स्थानमा जुनारको व्यावसायिक उप्पादन हुन्छन् ।

प्रकाशित : माघ ३, २०७७ २१:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?