कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ग्यास उद्योगले मापदण्ड मिच्दा बस्ती जोखिममा

नियमावलीमा ग्यास उद्योग बस्ती र अन्य उद्योगभन्दा कम्तीमा पाँच किलोमिटर टाढा हुनुपर्ने व्यवस्था छ । तर काभ्रेमा सञ्चालित ग्यास उद्योगहरूबीचकै दूरी तीन सय मिटर पनि छैन । 

काभ्रे — जिल्लामा स्थापित ग्यास उद्योगहरूले मापदण्ड पालना नगर्दा बस्ती जोखिममा परेका छन् । उनीहरूले सुरक्षाका कुनै उपाय अपनाएका छैनन् ।

ग्यास उद्योगले मापदण्ड मिच्दा बस्ती जोखिममा

बनेपा–१३ स्थित गौरीशंकर ग्यास उद्योग (हिमाल ग्यास) मा शुक्रबार ९ सय ८० किलो क्षमताको ट्यांकी पड्कँदा तीन कर्मचारी घाइते भएका थिए । चुहावट भएका सिलिन्डरको ग्यास भण्डारण गर्ने ट्यांकी पड्किएको थियो । विस्फोटबाट दुई ट्यांकीमा क्षति पुगे पनि आगलागी सुरु नभएका कारण ठूलो दुर्घटना हुन पाएन । ‘ग्यास लिक भएर विस्फोट भए पनि आगलागी सुरु भएनछ,’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवकुमार पोखरेलले भने, ‘तर नजिकै बस्ती, अस्पताल भएका कारण यसले जोखिम रहेको देखायो, प्राविधिक अनुगमन गरेर कारबाही अघि बढाउँछौं ।’

नेपाल आयल निगमको एलपी ग्यास विनियमावली, २०६५ (संशोधनसहित) मा प्रस्तावित उद्योग गाउँबस्ती र अन्य उद्योगभन्दा पाँच किलोमिटर टाढा हुनुपर्छ । तर बनेपा–१० थापागाउँमा रहेका ३ ग्यास उद्योगबीचको दुरी ३ सय मिटर पनि छैन ।

सरकारी निकायका अधिकारीले आर्थिक प्रलोभनमा आँखा चिम्लेर स्वीकृति दिँदा बस्ती जोखिममा परेको सरोकारवाला बताउँछन् । बनेपा–४ स्थित सगरमाथा ग्यास उद्योग, बनेपा–१० स्थित सूर्य ग्यास उद्योग र चण्डेश्वरी ग्यास उद्योगको दुरी करिब ३ सय मिटर मात्रै छ । प्राय: एकै व्यक्ति सञ्चालक रहेका ती दुवै उद्योगको पर्खाल नै एउटै छ । २०५२ चैतमा साबिक उग्रतारा गाविस ठेगाना रहेर दर्ता भएको सगरमाथा ग्यास उद्योग पछि डिजिटल नापीको बेलामा उग्रचण्डी नाला गाविसमा परेको भन्दै त्यहीँ कर तिर्दै आएको छ ।

उद्योगहरूले भने स्थापना हुँदा अन्य मापदण्ड भएको र स्थापनापछि मात्रै बस्ती विकास भएको दाबी गर्दै आएका छन् । २०५८ जेठ ५ गते उद्योग विभागमा दर्ता भएको सूर्य ग्यास उद्योगले २०६५ असार १७ देखि नै सूर्य ब्रान्डको ग्यास बजारमा दिँदै आएको छ । २०६५ जेठ १९ गते उद्योग विभागमा दर्ता भएको चण्डेश्वरी ग्यास उद्योगले २०६८ देखि चण्डी ब्रान्डको ग्यास बजारमा दिँदै आएको छ ।

यी तीनै उद्योगमा आपत्कालीन सुरक्षा संयन्त्र प्रभावकारी छैन । तीनवटै उद्योगमा छुट्टै अग्निनियन्त्रक छैनन् । एक जना अपरेटर र फायर एक्स्टिङ्ग्विसरका भरमा उद्योग धानिएको छ ।

साबिक टुकुचानाला गाविसमा स्थापित उग्रचण्डी ग्यास उद्योग पनि मापदण्डअनुसार छैन । उद्योगीले पेस गरेको फर्जी कागजातको आधारमा गाविसले चार किल्ला प्रमाणित गरिदिएर स्थापनाका लागि सहमति दिएपछि उद्योग सञ्चालनमा आएको हो । उक्त उद्योग नजिकैको इन्द्रशोभा प्रावि र बस्तीबाट ५ सय मिटर मात्र टाढा छ । विद्यालयले त्यहाँ ग्यास उद्योग स्थापना गर्न अनपयुक्त भन्दै साबिक गाविस कार्यालयमा उजुरीसमेत दिएको थियो । उद्योगको नक्सा पाससमेत फर्जी रहेकाले स्थानीयले पनि मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित : पुस २७, २०७७ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?