कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अविश्‍वासको प्रस्ताव फेल हुन्छ : मुख्यमन्त्री पौडेल

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूविरुद्ध प्रदेशसभामा दर्ता भएको अविश्वासको प्रस्तावलाई फेल हुने दाबी गरेका छन् ।

अविश्‍वासको प्रस्ताव फेल हुन्छ : मुख्यमन्त्री पौडेल

उद्योग संघ मकवानपुरको १९औं साधारणसभाको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले आफ्नै पार्टीका सांसदहरुले आफूविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्तावलाई परास्त गर्ने गरी आफूले तयारी गरिरहेको दाबी गर्दै उक्त प्रस्ताव फेल हुने बताएका हुन् । मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले पुस १० गते ४५ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गराएको थियो ।

‘अब बस्ने प्रदेशसभाको बैठकबाट अविश्वासको प्रस्तावको विषयलाई प्रक्रियागत ढंगबाट टुंगो लगाउनेछ,’ पौडेलले आफूविरुद्ध आफ्नै जिल्लाका सांसदहरुले समेत हस्ताक्षर गरेकोप्रति रोष प्रकट गर्दै भने, ‘आफ्नै जिल्लाका सांसदहरुले समेत मेरो विरुद्धमा हस्ताक्षर अभियान सञ्चालन गरे । अब विकास विरोधीहरु को रहेछन् भनेर जनताले चिन्ने दिन आएको छ ।’ पौडेलविरुद्ध मकवानपुरका नेकपाका सांसद् मुनु सिग्देल, कुमारी मोक्तान, प्रेमबहादुर पुलामी, ओमबहादुर ग्लानले हस्ताक्षर गरेका छन् ।

प्रदेशसभाको बैठक माघ ७ गतेका लागि डाकिएको छ । कुल एक सय १० प्रदेशसभा सदस्य रहेको वाग्मती प्रदेशमा मुख्यमन्त्रीको पक्षमा ३४ मत मात्रै रहेको छ । मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावलाई परास्त गर्न आफूले विभिन्न दलहरुसँग आन्तरिक छलफल गरिरहेको समेत बताएका छन् ।

प्रकाशित : पुस २५, २०७७ १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?