१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

राजमार्गमा नगरपालिकाको नाममा जथाभावी कर असुली

टीकाप्रसाद भट्ट

रामेछाप — तराईका जिल्लाबाट व्यापारिक सामान लिएर बीपी राजमार्गमा आउने सवारी साधनलाई सिन्धुलीगढीमा रोकेर नगरपालिकाको नाममा जबरजस्ती कर असुलेको भन्दै रामेछापका व्यवसायीहरु आन्दोलित भएका छन् ।

राजमार्गमा नगरपालिकाको नाममा जथाभावी कर असुली

कमलामाई नगरपालिकाले स्थानीय उत्पादनमा कर दस्तुर संकलनका लागि लगाएको ठेक्कामा कानुनविपरीत तराईका उद्योगबाट उत्पादित मालसामान बोकेर आउने ढुवानी साधनसँग कर असुल्ने गरिएको छ । चिनी, तेल, दाल, इँटालगायतका सामग्रीमा नगरपालिकाको नाममा मनलागी कर उठाउने गरिएको व्यवसायी बताउँछन् ।

कानुनबमोजिम स्थानीयस्तरमा उत्पादन भएका सामग्रीको सोही पालिकाबाहेक अन्य पालिकाले कर दस्तुर असुल गर्न पाउँदैनन । त्यसमाथि उद्योगबाट उत्पादित सामग्रीको भ्याटलगायतका दस्तुर तिरेर ढुवानी गर्दा बीचमा कुनै कर लाग्दैन । लिन पाइँदैन ।

बिहीबार राति साढे १० बजे धनुषाबाट चिनी बोकेर रामेछाप जाँदै गरेको ट्रक गढीमा (सोला भन्ज्याङ्ग) मा रोकियो । कमलामाई नगरपालिकासँग स्थानीय वस्तुको कर दस्तुर असुलीका लागि ठेक्का पाएको इम्यानुयल कन्स्ट्रक्सनका केही युवाले गाडी चालक लिला भुजेललाई के ल्याएको ? भनेर सोधे । चालकले चिनी ल्याएको उत्तर दिए । त्यतिमात्र हैन उनले चिनीको बिलसमेत देखाए । ती युवाले उनलाई छोडेनन्, गाडीको ढोका हाने, त्रिपाल उठाउन थाले अनि पछि दाउराले चालक भुजेलको अनुहारमा हाने । रगत बग्न थालेपछि भुजेलले गाडी कुदाए र ज्यान बचाए ।

‘मलाई मार्ने रहेछन्’, भुजेल भन्छन् – 'रातको समय थियो, म गाडीमा एक्लै थिएँ, उनीहरु २० जना जति थिए ।' उनले गढीबाट मन्थली आउन्जेलसम्म रगत बगेको सुनाए । उनले बिहीबार रातिको घटना विवरणसहित शुक्रबार इलाका प्रहरी कार्यालय खुर्कोटमा जाहेरी दर्ता गरी दोषीमाथि कारबाहीको माग गरेका छन् । व्यवसायीहरुले शुक्रबार रामेछापका प्रमुख जिल्ला अधिकारीलाई भेटेर तत्काल समस्या समाधान नभएर आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशकसेन ढकाल सिन्धुलीगढीमा उठाउने करको विषयमा यसअघि पनि पटक-पटक गुनासो आएको बताउँछन् । ‘हामीले कुन सामग्रीमा कर लिन पाउने भन्ने कुराको विवरणसहित ठेकेदारलाई दिएका छौं, लिस्ट टाँस्नुस् भनेका छौं ’, ढकाल भन्छन्, ‘यो भन्दा बढी के भनौं । उनले ठेकेदारका तर्फबाट कर असुल्न खटाइएका युवाले मनलागी कर असुलेको कुरा यसअघि पनि सुनेको र प्रमुख जिल्ला अधिकारीलगायतको ध्यानाकर्षण भइसकेको बताए ।

नगरपालिकासँग स्थानीय वस्तुको सेवा कर संकलनका लागि ठेक्का पाएको इम्यानुयल कन्स्ट्रक्सनका प्रोपाईटर छत्र बम्जनले बिहीबार रातिको घटनाप्रति दु:ख व्यक्त गरे ।

रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेले रामेछापका व्यवसायीले यसअघि पनि सिन्धुलीको गढीमा भएको जथाभावी कर असुलप्रति खनियाखर्क प्रहरीको ध्यानाकर्षण गराउँदा कुनै सुनुवाइ नभएको बताए । उनले रामेछापतर्फ आउने सबै साधन ठगिएको बताए ।


प्रकाशित : पुस २४, २०७७ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?