७० नाघेकालाई घरैमा स्वास्थ्य सेवा- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७० नाघेकालाई घरैमा स्वास्थ्य सेवा

कान्तिपुर संवाददाता

हेटौंडा — मकवानपुरको राक्सिराङ गाउँपालिकाले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा ‘आमाबुबा बचाउ स्वास्थ्य कार्यक्रम’ सञ्चालन गरेको छ ।

चेपाङ बाहुल्य राक्सिराङमा चिकित्सक नियुक्त गरेर ७० वर्ष उमेर पार गरेका वृद्धवृद्धालाई घरमै निःशुल्क स्वास्थ्य परीक्षण र औषधि उपलब्ध गराउन थालिएको हो ।

शुक्रबार राक्सिराङ–८ देवीटारबाट कार्यक्रमको सुरुवात भएको हो । ७० वर्ष कटेका स्थानीय बासिन्दालाई घरमै पुगेर निःशुल्क उपचार सेवा सुरु गरेको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । आर्थिक अवस्था कमजोर भएकै कारण सामान्य रोगको उपचार गर्न नसकेर ज्यान गुमाउनुपर्ने अवस्थालाई कार्यक्रमले न्यूनीकरण गर्ने उनको भनाइ छ ।

प्रतिष्ठानका चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गरी बिरामीको उपचार गरिने उद्देश्यअनुरूप सम्झौता गरिएको हो । कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले एमबीबीएस चिकित्सक नियुक्त गरेको छ ।


प्रकाशित : पुस १९, २०७७ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्

२ लाख ३० हजार पर्यटक भित्रिए

कान्तिपुर संवाददाता

काठमाडौँ — करिब २० लाख पर्यटक ल्याउने लक्ष्य राखिएको सन् २०२० मा कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना मात्रै नेपाल भित्रिएका छन् ।

हवाई र सीमा नाकाबाट उक्त संख्यामा पर्यटक भित्रिएको अध्यागमन विभागले जनाएको हो । सन् २०१९ मा ११ लाख ९७ हजार विदेशी नेपाल भित्रिएका थिए ।

अघिल्लो वर्षको दाँजोमा गत वर्ष झन्डै ८४ प्रतिशत कम पर्यटक आएका हुन् । विभागका अनुसार गत वर्ष १ सय ७० देशबाट विदेशी आएका थिए । सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६, म्यानमारबाट २० हजार ९ सय ११, थाइल्यान्डबाट २० हजार ७ सय ७८, चीनबाट १९ हजार २ सय ५७, संयुक्त राज्य अमेरिकाबाट १७ हजार ७ सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना भित्रिएका थिए ।

विभागका अनुसार, २०२० मा स्वदेश आउने नेपालीको संख्या ४ लाख ९१ हजार ४ सय ४८ रहेको छ । विदेशी र नेपालीको गरी कुल आगमन संख्या सन् २०२० मा ७ लाख २१ हजार ५ सय ३३ रहेको छ ।

प्रकाशित : पुस १९, २०७७ ०८:४७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×