बजेट नहुँदा रामेछापमा आवास पुनर्निर्माण अनुदान वितरण रोकियो

टीकाप्रसाद भट्ट

रामेछाप — सरकारले समयमा बजेट निकासा नगर्दा रामेछापका भूकम्प पीडितले आवास पुनर्निर्माण अनुदान पाउन सकेका छैनन् । 

बजेट नहुँदा रामेछापमा आवास पुनर्निर्माण अनुदान वितरण रोकियो

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पटक-पटक बजेट माग गर्दा हालसम्म उपलब्ध नभएकोले किस्ता दिन नसकिएको जिल्ला आयोजना कार्यान्वयन इकाई रामेछापले जनाएको छ । इकाईका अनुसार अघिल्लो चौमासिकमा सबै प्रक्रिया पूरा गरी भुक्तानीका लागि पुगेका ३ हजार ५ सय भूकम्प पीडितको फाइल जिल्ला आयोजनामा नै रहेको छ ।

आयोजनाले रकमको अभाव हुँदा कोलेनिकामा भुक्तानी आदेश पठाउन सकेको छैन । कोलेनिकाले बजेट खर्च गरेपछि पीडितको बैंक खातामा अनुदान रकम जम्मा हुन्छ । गएको चौमासिकमा प्रक्रिया पूरा गरेका लाभग्राहीलाई मात्रै ३१ करोड भुक्तानी गर्नुपर्छ । आयोजना प्रमुख गणेश अर्यालका अनुसार महिना दिन अघिदेखि प्राधिकरणले रकम निकासा गर्ने आश्वासन दिएको थियो । ‘आइहाल्छ भन्ने जानकारी आउँछ पैसा आएको छैन’ अर्यालले भने ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का फोकल ईन्जिनियर किशोरविक्रम शाहीका अनुसार अनुदानका लागि यसअघिकै चौमासिकमा १ हजार ६ सयले पहिलो किस्ता, ८ सयले दोस्रो किस्ता र १ हजार १ सयले तेस्रो किस्ताको रकम पाउन बाँकी छ । पहिलो ५० हजार, दोस्रो १ लाख ५० हजार र तेस्रो किस्तामा १ लाख रुपैयाँ अनुदान उपलव्ध गराउनु पर्छ ।

मन्थली १ का भूकम्प पीडित गोमा सुवेदीले गएको असारअगावै पेस भएको फाईलको हालसम्म रकम नपाएको गुनासो गरिन् । उनले घर बनाउँदा प्रयोग भएको सामान र ज्यामी भुक्तानी गर्नका लागि ऋण खोजेर टारेको बताइन् । ‘अनुदान आउला र ऋण तिरौंला भनेर बसेको ६ महिना भयो तर अनुदान आएन’ सुवेदीले भनिन् ।

प्रकाशित : पुस १६, २०७७ १५:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?