टहरामा शीत छल्दै रात कटाउँछन् प्रहरी

टीकाप्रसाद भट्ट

रामेछाप — उमाकुण्ड गाउँपालिका–७ भुजीका प्रहरी जस्ताको टहरामा पुसको ठन्डी झेल्न बाध्य छन् । चिसोले सुत्न मुस्किल परेपछि उनीहरू आगो तापेर रात कटाउँछन् ।

टहरामा शीत छल्दै रात कटाउँछन् प्रहरी

‘जाडो कति हो कति, भनिसाध्य छैन । आगो बाल्छौं र पालैपालो झकाउँछौं,’ चौकीका इन्चार्ज सन्तबहादुर तिमल्सिनाले भने, ‘भित्र सुतिसक्नु छैन, जस्ताबाट शीत तप्किन्छ ।’

२०७२ को भूकम्पपछि कोलडाँडामा प्रहरी चौकीका लागि जस्ताको टहरो बनाइएको हो । टहरोमा वरिपरिको बार पनि जस्तापाताकै छ । हावा जस्ताको चेपबाट भित्रै आइपुग्छ । ‘छानामा हालिएको जस्ताबाट तपतपी शीत झर्छ,’ एक जवानले भने, ‘जेनतेन रात गुजारिन्छ ।’ चौकीमा ११ जनाको दरबन्दी छ । साबिकको भुजी गाविसको सुरक्षा प्रबन्ध चौकीको कार्यक्षेत्रमा पर्छ ।

भुजी प्रहरी चौकीका लागि यसअघि जग्गा नभएकैले व्यवस्थित भवन बनाउन नसकिएको हो । ‘बल्ल जग्गा प्राप्ति भएको छ, हामीले माथिल्लो निकायमा भवन निर्माणका लागि माग गरिरहेका छौं,’ इन्चार्ज तिमल्सिनाले भने, ‘अब केही होला । यसअघि पालिकालाई पनि बन्दिलो घरमा प्रहरी राखिदिनुस् भनिएको हो तर जग्गा नभएकैले उहाँहरूले चासो दिनुनभएको होला ।’

प्रहरीले भुजी चौकीमा बस्ने प्रहरीलाई हिमाली ज्याकेट दिएको छ । उच्च पहाडी भूभागमा पर्ने चौकीका प्रहरीले त्यस्तो ज्याकेट पाउँछन् । ‘गत वर्ष प्रहरी चौकीको अनुगमन गर्न पुगेका प्रमुख जिल्ला अधिकारीले जाडोबाट जोगिन केही थान कम्बल दिएर जानुभो,’ तिमल्सिना भन्छन्, ‘त्यसले के धानिन्थ्यो ?’

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठक भुजीका प्रहरीले अब लामो समय टहरामा बस्नु नपर्ने बताउँछन् । ‘हामीले भुजीलगायत तीनवटा प्रहरी इकाइको भवन निर्माणका लागि माथिल्लो निकायमा लेखिसकेका छौं,’ उनले भने, ‘प्रदेश तहबाट स्वीकृत भइसकेको जानकारी पाएको छु ।’ उनले जिल्लाका अधिकांश प्रहरी इकाइमा सुरक्षित भवन निर्माण भइसकेकाले बाँकी स्थानमा भवनलगायत पूर्वाधारमा केन्द्रित रहेको बताए ।

प्रकाशित : पुस १५, २०७७ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?