सिन्धुलीमा स्थानीयद्वारा वडा कार्यालयमा तालाबन्दी

सिन्धुली — समानुपातिक रूपमा बजेट वितरण नगरेको भन्दै सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकालीको वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । कमलामाई नगरले २०७७/७८ का लागि विनियोजित बजेट वडाध्यक्ष नवराज थिङले मनोमानी ढंगले एकै स्थानका लागि छुट्याएको भन्दै आक्रोशित स्थानीयहरूले तालाबन्दी गरेका हुन् ।

वडामा आएको २५ लाख रुपैयाँ बजेट वडाध्यक्ष थिङले पहुँचका आधारमा साविकको एउटै वडालाई मात्र दिएको स्थानीय इन्द्रबहादुर वाइबाले आरोप लगाए । ‘साविक भद्रकाली गाविसका ९ वटा वडामध्ये वडा–२ मा मात्रै बजेट छुट्याएर बाँकी ८ वटा वडालाई वञ्चित गरिएको छ,’ वाइबाले भने, ‘स्थानीयहरूले वडाध्यक्षको मनोमानीविरुद्ध तालाबन्दी गरेका हुन् ।’

प्रदेश सरकार र नगरबाट विनियोजित बजेटबाट वडामा सडक, सिँचाइ, खानेपानी, चौतारा, मठमन्दिरलगायतको विकास हुने अपेक्षा गरिएकोमा कमिसनका लागि एकै ठाउँमा मेसिन प्रयोग गर्न बजेट पारिएको अर्का स्थानीय प्रकाश कार्कीको आरोप छ । उनका अनुसार प्रदेशको समेत गरी करिब ८९ लाख रुपैयाँ बजेट एकै ठाउँमा केन्द्रित गरिएको छ । उक्त बजेट सडक र खानेपानीमा छुट्याइएको हो । वडाध्यक्ष थिङले बजेट बाँडफाँटका विषयमा छलफल हुने र सहमति भएमा सच्याउन तयार रहेको बताए ।

प्रकाशित : पुस १४, २०७७ २१:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?