कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेकपा विवाद : काभ्रेमा दाहाल–नेपाल समूहका अध्यक्ष, सचिवलाई हटाइयो

काभ्रे — नेकपा ओली समूहले काभ्रे जिल्ला अध्यक्ष र सचिवलाई पदमुक्त गरेको छ । जिल्ला कमिटीका ओली पक्षीय ‘बहुमत सदस्य’को बैठकले अध्यक्ष रुकु चौलागाई र सचिव टोकबहादुर वाइबालाई पदमुक्त गरेको हो ।

उनीहरुको ठाउँमा कमिटीका उपाध्यक्ष रहेका अशोककुमार व्याञ्जु श्रेष्ठलाई जिम्मेवारी सुम्पिएको छ । सचिवको जिम्मेवारी भने हालै केन्द्रीय सदस्य मनोनित भएका नारायण पाण्डेले पाएका छन् ।

जिल्ला कमिटीमा कायम १ सय २३ मध्ये ६४ जनाको उपस्थितिमा भएको बैठकले पदमुक्त गर्ने निर्णय गरेको हो । १ सय २६ सदस्यीय कमिटीका २ जनाको निधन भएको र एक जना वैदेशिक रोजगारीमा छन् । पार्टी एकीकरणका बेला काभ्रेमा साविक माओवादी केन्द्रले अध्यक्ष र एमालेले सचिवको जिम्मेवारी पाएको थियो ।

अढाई वर्षको अवधिमा जिल्ला कमिटीको कुनै पनि बैठक नबसेको र कार्यक्रम नगरेको, पार्टी प्रवेश गर्न रोकेर विरोधी पार्टीलाई सहयोग गरेको, गुटगत र संगठनात्मक पद्धतिविरोधी गतिविधि गरेको आरोप ओली समूहको छ । अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल समूहले आफू नै आधिकारीक भएको दाबी गर्दै आइतबार बनेपामा अगुवा, कार्यकर्ता भेला गरेका थिए । ओली समूहमा रहेका युवा संघ धुलिखेल नगर कमिटीले सोही दिन मोटरसाइकल र्‍याली गरेका थिए ।

यसअघि ओली पक्षीय नेता कार्यकर्ताले बनेपास्थित पार्टी कार्यलय ताला लगाएर कब्जामा लिएका थिए । सम्भावित झडपलाई मध्यनजर गरेर प्रहरीले त्यहाँ सुरक्षा दिइरहेको छ ।

प्रकाशित : पुस १४, २०७७ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?