कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

३१ लाख रुपैयाँ बराबरको औषधिसहित ८ जना पक्राउ

चितवन — अवैध आयातको आशंकामा चितवन प्रहरीले ३१ लाख ५ हजार मूल्य बराबरका विभिन्न खाले औषधि नियन्त्रणमा लिएको छ । चितवनको दक्षिणी क्षेत्र माडीबाट मंगलबार औषधिसहित आठजनालाई नियन्त्रणमा लिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले बताए । प्रहरीले ठोरीबाट माडी आउँदै गरेको गाडी र माडीकै स्थानीयको घरबाट औषधि नियन्त्रणमा लिएको हो ।

३१ लाख रुपैयाँ बराबरको औषधिसहित ८ जना पक्राउ

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक शर्माको टोलीले ना ४ ख ४४२५ नम्बरको गाडी खानतलासी गर्दा औषधि फेला परेको थियो । थप सोधपुछपछि माडी माडी–३ का बालकृष्ण महतो र मिलन महतोको घरमा पनि औषधि भेटिएको थियो । अनुसन्धान र खोजतलास जारी नै रहेका बेलामा बुधबार बिहान पनि माडी–९ बगई खोलामा बेबारिसे अवस्थामा थप औषधि फेला परेको चितवन प्रहरीले जनाएको छ ।

गाडी र घरबाट बरामद भएको औषधिको मूल्य २१ लाख १० हजार ५३२ रुपैयाँ बाराबर रहेको डिएसपी थापाले बताए । त्यसैगरी खोलामा बेबारिसे भेटिएको औषधिको मूल्य नौ लाख ९५ हजार एक सय रुपैयाँ बराबर रहेको उनले जानकारी दिए । ती औषधिहरु नियमति औषधिहरु नभएर फुड सप्लिमेन्ट र एन्टीअक्सिडेन्ट औषधिहरु रहेको र नेटवर्क मार्केटिङ अन्तर्गत बढी मूल्यमा बेच्ने उद्देश्यले अवैध रुपमा ल्याएको डिएसपी थापाले बताए ।

प्रहरीले चितवन कालिका नगरपालिका–४ का २८ वर्षीय राजकुमार महतो र कालिका–३ का ३१ वर्षीय हरिशरण चौधरी तथा माडी–३ बघौडाका २२ वर्षीय बालकृष्ण महतो, २२ वर्षकै मिलन महतोलाई नियन्त्रणमा लिएको छ । त्यसैगरी मकवानपुर गढी गाउँपालिका–८ का २५ वर्षीय सुरज गौतम, र वडा नम्बर ३ का २३ वर्षको प्रकास दाहाल तथा हेटौंडा–५ का २५ वर्षीय उज्जवल पोख्रेल तथा वडा नम्बर २३ का २३ वर्षीय विपिन सापकोटालाई पनि प्रहरीले नियन्त्रणमा लिएर आवश्यक सोधपुछ सुरु गरेको छ ।

‘यी औषधिहरु आयातका लागि औषधि व्यवस्था विभाग तथा अन्य निकायमा दर्ता भएको देखिएको छैन । औषधि ल्याउँदा कागजपत्रहरु पनि छैनन् । तस्करी नै हो । यसैले पक्राउ गरेर अनुशन्धान अगाडी बढाएका हौं । उनीहरुलाई औषधि व्यवस्था विभागमा पनि बुझाउँछौं । नेटवर्क मार्केटिङ गर्न लागेको आशंका छ । त्यसो हो भने ठगीमा पनि मुद्दा चलाउँछौं’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख रहेका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले भने ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रत्ननगरका डा.देवेन्द्र यादवले बरामद औषधिहरु सम्बन्धित निकायमा दर्ता भए नभएको बुझ्नुपर्ने बताए । ‘बरामद भएका औषधिहरु डाक्टरको सिफारिस बिना प्रयोग गर्न नमिल्ने औषधिहरु हुन् । तर मेरो १६ वर्षको चिकित्सा जीवनमा अहिलेसम्म यस्ता औषधि भेटिएको छैन । सफारिस गर्न त पर जाओस् । सरसर्ती हेर्दा नियम मिचेरै औषधि ल्याएको देखिन्छ’ डा.यादवले भने ।

प्रकाशित : पुस १, २०७७ १८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?