३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रामेछापमा धमाधम सडक कालोपत्रे

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापमा पछिल्लो दुई वर्षमा ग्रामीण क्षेत्रका सडक कालोपत्रे गर्ने कार्य तीव्र रुपमा भइरहेको छ ।

रामेछापमा धमाधम सडक कालोपत्रे

केही सडक यो वर्ष सकिँदैछन् भने केहीमा ठेक्का लागेको छ ।‘अबको केही समयमा नै प्रमुख गन्तव्यहरुमा पुग्ने सडकमा हिलो देखिने छैन’ वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेल भने ‘काम तोकिएको अवधिमै होस, पैसाको कमी हुँदैन । प्रदेशले सडक सुधारका कार्यलाई प्रमुखता दिएको छ ।’ सडकसँगै खानीखोला र रणजोर खोलामा पक्की पुल निर्माण थालिएको छ ।

जिल्लामा कालोपत्रे सडकका लागि सबैभन्दा ठूलो लगानी प्रदेश सरकारको छ । दर्जनौं सडक कालोपत्रे प्रदेश सरकारको बजेटबाट थालिएको जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख सोमराज तिमल्सिनाले बताए । संघीय सरकारले जिल्ला सदरमुकाम जोड्ने सडकलाई प्रमुखता दिएर काम गर्दै आएको छ । यसबाहेक संघीय सरकारले एक्जीम बैंकको सहयोगमा सेलेघाट–साँघुटार सडक कालेपत्रे काम थालेको छ ।

स्थानीय सरकारले समेत प्रदेश र संघीय योजना परेका सडकमा समेत थोरबहुत कालोपत्रेमा हात हालेका छन् । तीन वर्षअघि जिल्ला सदरमुकामभन्दा बाहिर रामेछापमा कतै कालोपत्रे सडक थिएन । वर्षायाममा एकाध ग्रामीण क्षेत्र बाहेक सार्वजनिक यातायात चल्दैनथे । जताततै हिलो र खाडलले सडकमा यातायातका साधन गुड्न सक्ने अवस्था थिएन । ‘सुदृढीकरणको नाममा सडकमा बजेट खर्च हुन्थ्यो तर नाम मात्रको’ स्थानीय गोविन्द श्रेष्ठले भने,‘बजेट सकिन्थ्यो र वर्षायाम सँगै सडक पनि काम नलाग्ने हुन्थ्यो । श्रेष्ठले भने, ‘पछिल्लो वर्ष काममा सुधार आएको छ, जति पैसा खर्च हुन्छ दिगो कामलाई प्राथमिकता दिइएको छ ।’

मन्थली नगरपालिका ४ सालुको च्याउकेठाँटीसम्मको सडक केही समयभित्रै कालोपत्रेको काम सकिन्छ । नगर प्रमुख रमेशकुमार बस्नेत भन्छन्– माथिल्लो सुनारपानीसम्म कालोपत्रे सकिएको छ, अबको केही महिनामा च्याउकेढाँटीसम्म पुग्छ । त्यसैगरी मन्थली–भलुवाजोर, मन्थली–भटौली, मन्थली–चिसापानी–पुरानागाउँ, मन्थली–गेलु, मन्थली–कठजोर, मन्थली–रालटार र देवीटार–पोखरीडाँडा सडक कालेपत्रेको काम एकै साथ हुँदैछ । तीमध्ये धेरै सडक चालु आर्थिक वर्षमा नै सम्पन्न हुने अवस्थामा पुगेका छन् । सबै गरी करिब ६५ किलोमिटर सडक कालोपत्रे हुन्छ । उक्त सडकका लागि सरकारले २ अरब भन्दा बढी लगानी गर्दैछ ।

यस बाहेक प्रदेश सरकारकै लगानीमा पूर्वाधार विकास कार्यालयमार्फत खिम्तीदेखि वेताली हुँदै रस्नालु, उमाकुण्डको कालापोखरीदेखि सिंगटी, हलेदेदेखि धोवी, रामेछापबाट बसेरी, रामेछापबाट कोलञ्जोरघाट, धोवीबाट दुरागाउँ जाने सडकसमेत कालोपत्रे थालिएको छ । तिमल्सिना भन्छन् – 'कुनैको काम गत वर्षदेखि नै क्रमागत रुपमा भइरहेको छ भने कुनैमा नयाँ ठेक्का लगाउने काम भएको छ ।'

प्रकाशित : मंसिर २५, २०७७ २१:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?