२६ करोड लागतमा राप्ती खोलामा पुल निर्माण सुरु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२६ करोड लागतमा राप्ती खोलामा पुल निर्माण सुरु

सुवास विडारी

मकवानपुर — हेटौंडा–११ स्थित राप्ती खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बिहीबार हेटौंडा–११ नवलपुर र १२, पदमपोखरी जोड्ने पक्की पुलको शिलान्यास गरेका हुन् ।

नवलपुर मुख्यमन्त्री पौडेलको वडा समेत हो । २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न हुने वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त पुल २६ करोड ४१ लाख ८७ हजार रुपैयाँ लागतमा निर्माणको जिम्मेवारी एलिट कन्स्ट्रक्सन काठमाडौं ठेकेदार कम्पनीलाई पाएको छ ।

पुलको शिलान्यास गर्दै मुख्यमन्त्री डोरमणि पौडेलले शहरीकरणको विकास र समानुपातिक रुपमा प्रदेशभर विकासका आयोजनाहरु प्राथमिकताका आधारमा निर्माण भइरहेको बताए । ‘प्रदेश गौरवको आयोजनाको कामहरु समेत सुरु भइसकेका छन् । अहिले हामीले आवश्यकताका आधारमा समानुपातिक विकासतर्फ अग्रसर भइरहेका छौं,’ मुख्यमन्त्री पौडेलले भने ।

शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री रामेश्वर फुयालले प्रदेश सरकारले प्रदेशभित्रका जिल्लामा मागका आधारमा खानेपानी, पक्की पुल, सडक र विद्युतीकरणतर्फ विशेष धयान दिइरहेको बताए ।

प्रकाशित : मंसिर १८, २०७७ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्

नवौं राष्ट्रिय खेलकुद फागुनमा नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — पोखरामा सञ्चालन हुने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा नहुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले नवौं राष्ट्रिय खेलकुद आगामी फागुन २० गतेदेखि पोखरामा गर्ने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौं राष्ट्रिय खेलकुदका लागि आवश्यक भौतिक पूर्वाधार अन्तर्गत स्विमिङ, सुटिङ र हकिबाहेक अरु खेलका पूर्वाधारहरु निर्माण भइसकेका छन् ।

स्विमिङ र सुटिङको लागि टेन्डर पारित भएको छ भने हकीको लागि जग्गा खोज्ने कार्य भइरहेको छ । खेलका भौतिक पूर्वाधारहरु तयार भएपनि कोरोना संक्रमणको जोखिमका कारण फागुनमा खेल आयोजना गर्न नसकिने राखेप सदस्य सम्पन्न श्रेष्ठले बताए ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशको राजधानी पोखरामा नै हुने र पूर्वाधारका कारण खेल नरोकिने उनले स्पष्ट पारे । यद्यपि खेल कहिले हुने भन्ने सम्बन्धमा राखेपले छिट्टै निर्णय गर्ने पनि बताए ।

प्रकाशित : मंसिर १८, २०७७ १४:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×