चितवनमा बगाल बढाउँदै अर्ना, पाँचौ बच्चा जन्मियो

रमेशकुमार पौडेल

चितवन — मुख्य बासस्थलबाट ल्याएर चितवनमा राखिएका अर्नाले बच्चा जन्माउने क्रम जारी छ । हालै चितवनमा अर्नाको एउटा बच्चा जन्मेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । जन्मेको बच्चा तन्दुरुस्त छ । माउको पछिपछि हिँड्न सुरु गरेको छ । चितवनमा जन्मेको अर्नाको यो पाँचौ बच्चा हो । निकुञ्जभित्र खुला क्षेत्रलाई तारबार गरेर अर्ना राखिएको छ ।

चितवनमा बगाल बढाउँदै अर्ना, पाँचौ बच्चा जन्मियो

अर्नाको नेपालमा मुख्य बासस्थल कोसीटप्पु निकुञ्ज हो । त्यहाँबाहेक अन्यत्र अर्ना छैन पनि । तर ७३ सालको पुसमा कोसीबाट चितवन निकुञ्जमा अर्ना ल्याएर राखिएको छ । त्यो बेला कोसीटप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरेर १५ वटा अर्ना चितवनमा ल्याइएको थियो । कुनैबेला चितवनको जंगलमा पनि अर्ना भेटिन्थ्यो । तर देखिन छाडेको लामो समय भएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जले स्थानान्तरण गरेको एउटा बस्ती छ । जसलाई पदमपुर भन्ने गरिन्छ । पदमपुरमा मान्छे हटाएपछि खाली भएको फाँटमध्ये ३० हेक्टर जमिनलाई तारबार गरेर अर्ना छाडिएको हो । जुन ठाउँ चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर कार्यालय सौराहाबाट दक्षिणमा पर्दछ । पदमपुरमा छाडेका १५ अर्नामध्ये ६ वटा अर्ना विभिन्न कारणले मरे । तर स्थानान्तरण गरेर ल्याएपछि यसअघि चारवटा बच्चा जन्मेका थिए ।

यहाँ जन्मेका कुल पाँच बच्चाहरुसमेत गर्दा अहिले अर्नाको संख्या १४ पुगेको छ । ७४ सालको साउन २८ गते आएको भिषण बाढीले अर्नाहरुलाई पनि सताएको थियो । उनीहरुको स्वास्थ्य अवस्था निकै बिग्रेको थियो । तर उनीहरुको अवस्था बिस्तारै सुधार हुँदै आयो । बच्चा पनि जन्मन थाले । थप १५ हेक्टरमा तारबार गरेर अर्ना बस्ने क्षेत्र बढाउन लागेको निकुञ्जले जनाएको छ ।

प्रकाशित : मंसिर ११, २०७७ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?