२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

चरिकोट — दोलखा भीमेश्वर मन्दिरमा रहेको शिलामा मंगलबार दिउँसो ‘पसिना’ आएको छ । दिउँसो १ बजेर ४३ मिनेटदेखि २ बजेर ५४ मिनेटसम्म शिलामा ‘पसिना’ आएको भीमेश्वर नगरपालिका—२ का वडाध्यक्ष विराजमान श्रेष्ठले जानकारी दिए । त्यसपछि पुन: दोहार्‍याएर ‘पसिना’ आएको थियो ।

दोलखा भीमेश्वरको शिलामा ‘पसिना’

भीमेश्वरको शिलामा पसिना आएपछि भक्तजनहरु मन्दिर परिसरमा भेला भएर घण्टी बजाउने, धूप बत्ती गर्ने र मन्दिरका मुख्य व्यक्तिहरुले पंखाले शिलामा हम्कने गर्छन् । भीमेश्वरको शिला (चट्टान)मा पानीका कालो थोपा देखिएर झर्ने क्रमलाई ‘पसिना’ आएको विश्वास गर्ने गरिएको छ ।

कोरोना महामारीका कारण बन्द भएको मन्दिरको शिलामा ‘पसिना’ आएपछि पुजारीले स्थानीयलाई खबर गरेपछि जिल्ला प्रशासनका प्रतिनिधि, प्रहरी नायव उपरीक्षक, सशस्त्र प्रहरी, नेपाल सेना दोलखाका प्रमुखहरु मन्दिरमा पुगेर दर्शन गरेका थिए । ‘पसिना’ आएपछि राष्ट्रपतिद्वारा क्षमापूजाका विषयमा छलफल भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

मन्दिरमा शिला पुछेको कपास लिनेको भीड लागेको थियो । ‘पसिना’ पुछेको कपास राष्ट्रप्रमुख र सर्वसाधारणमा बाँड्ने चलन छ । उक्त कपासलाई खाममा हालेर राष्ट्रपतिकोमा पुर्‍याउने चलन छ । राजाको शासनकालमा राजपरिवारबाट क्षमापूजा गर्ने चलन थियो हाल राष्ट्रपतिबाट पूजा गरिँदै आएको छ । यसअघि २०७४ सालमा मंगलबारकै दिन दोहार्‍याएर ‘पसिना’ आएको थियो । विक्रम संवत १९९०, २००७, २०२८ र २०७० पनि भीमेश्वरको शिलामा पसिना आएको थियो ।

प्रकाशित : मंसिर ९, २०७७ १८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?