कोरोना संक्रमित मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

कोरोना संक्रमित मन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं लगियो

कोरोना भाइरस संक्रमणका कारण हेटौंडा सिमेन्ट उद्योगस्थित आफ्नै क्वार्टरमा आइसोलेसनमा बसेका मन्त्री लामाको स्वास्थ्य अवस्थामा समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको सचिवालयले जनाएको छ । ‘उहाँमा खोकी धेरै देखियो ।

हेटौंडामा डाक्टरहरुले थप उपचार काठमाडौं गएर गर्न सुझाएपछि सोही अनुसार गरेका हौं,’ मन्त्रीका स्वकीय सचिव सुरज थपलियाले भने । उनका अनुसार मन्त्री लामामा निरन्तर खोकी बढेका कारण समस्या देखिएको छ । ‘निरन्तर खोकी लागिरह्यो । शरीरमा अक्सिजनको मात्र पर्याप्त नभएको कारण थप उपचार काठमाडौंमै गर्नुपर्ने डाक्टरहरुको समेत सल्लाह रहेको छ,’ उनले भने ।

हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा मंसिर ५ गते गरेको स्वाब परीक्षणमा मन्त्री लामालाई कोरोना संक्रमण देखिएको थियो । नेपाली सेनाको हेलिकप्टरमार्फत् मंगलबार बिहान १०:३० बजे उनलाई काठमाडौं लगिएको हो । उनको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा उपचार गरिनेछ ।

यसअघि वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई पनि कोरोना संक्रमण भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं लगिएको थियो । मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त भइसकेका छन् ।

प्रकाशित : मंसिर ९, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?