१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

नुवाकोटमा विद्यालय खुले

कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई
कृष्ण थापा

नुवाकोट — कोरोना महामारीका कारण ८ महिनादेखि बन्द विद्यालय खुलेका छन् । जिल्लाका अधिकांश स्थानीय तहले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय खोल्न निर्देशन दिएपछि कक्षाकोठामै पठनपाठन थालिएको हो ।

नुवाकोटमा विद्यालय खुले

बेलकोटगढी नगरपालिका तथा तादी, दुप्चेश्वर, पञ्चकन्या, सूर्यगढी, शिवपुरी, म्यागङ, किस्पाङ गाउँपालिकाका विद्यालयमा आइतबारदेखि पढाउन थालिएको हो । ‘स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालनमा ल्याएका छौं,’ तादी गाउँपालिका अध्यक्ष नारायण पाण्डेले भने, ‘नर्ससहित मास्क, सेनिटाइजर, थर्मोमिटरको व्यवस्था तथा दूरी कायम गरेर पठनपाठन थालेका छौं ।’ तादीमा २९ विद्यालय छन् ।

पञ्चकन्या गाउँपालिकाका ४ कर्मचारीसहित ५ जनामा कोरोना संक्रमण देखिएपछि बीचमा वैकल्पिक विधिबाट पढाउन खुलेका विद्यालय गत कात्तिक २० बाट बन्द गरिएका थिए । अहिले अवस्था सामान्य बन्दै गएकाले पुन: सञ्चालनमा ल्याइएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख चक्रदेव जोशीले बताए ।

विद्यालय खोल्न सरकारले कात्तिक २० मा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ जारी गरेको थियो । सोहीबमोजिम स्थानीय तहहरूले स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय खोल्ने निर्णय गरेका थिए । कोरोना महामारीका कारण नियमित पढाइ अवरुद्ध भएकाले सबै विद्यालयहरूले पाठ्यक्रम विकास केन्द्रले तयार पारेको पाठ्यवस्तु समायोजन ढाँचा २०७७ अनुसार वार्षिक कार्यतालिका बनाई कक्षा सञ्चालनमा ल्याएका छन् । प्रत्येक विषय शिक्षकलाई संक्रमणकालीन वार्षिक शिक्षण योजना बनाई अध्यापन गर्नसमेत भनिएको छ ।

कोरोना संक्रमण फैलिएमा अबदेखि विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा सम्बन्धित विद्यालय व्यवस्थापन समितिलाई दिइएको छ । जिल्लामा १२ वटा स्थानीय तहमा ४ सय ३३ सामुदायिक र ५० संस्थागत विद्यालय छन् । जसमा करिब ७० हजार विद्यार्थी पढ्छन् ।

प्रकाशित : मंसिर ७, २०७७ २२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?