१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

सिन्धुलीको मरिणका सामुदायिक विद्यालय मंसिर ८ देखि खुल्ने

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको मरिण गाउँपालिकामा रहेका सामुदायिक विद्यालयमा मंसिर ८ गतेदेखि विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन सुरु हुने भएको छ । संघिय सरकारले विद्यालयमा पठनपाठन सुरु गर्ने,नगर्ने अधिकार स्थानीय तहलाई दिएसँगै सामुदायिक विद्यालय खुल्ने भएका हुन् ।

सिन्धुलीको मरिणका सामुदायिक विद्यालय मंसिर ८ देखि खुल्ने

गाउँपालिकामा बसेको शिक्षा समितिको बैठकले कार्ययोजना बनाएर पढाइ सुरु गर्न विद्यालयहरुलाई जिम्मा लगाएको गाँउपालिकाले जनाएको छ । कोरोना संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका सामुदायिक विद्यालय अहिले स्थानीय तहलाई अधिकार दिएसँगै नियमित पठनपाठन गराउने कार्यमा जुटेका छन् ।

मरिण गाउँपालिकाका शिक्षा शाखा संयोजक नवराज बरालले अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थितिमा उपयुक्त विधि बनाएर मंसिर ८ गतेबाट पढाइ सुरु गर्न लागेको जानकारी दिए । अहिले विद्यालयले पढाइ सुरु गर्न कार्ययोजना बनाउँदै छन् । सामाजिक दूरी कायम गरी कस्तो विधि अपनाएर पढाइ सुरु गर्ने, त्यसको जिम्मा विद्यालयलाई नै दिएको उनको भनाइ छ ।

विद्यालयले बिहान, दिउँसो, आलोपालो, दिन बिराएर जेपनि तरिका अपनाउन सक्नेगरी पढाइ सुरु गर्ने अधिकार गाउँपालिकाले प्रत्यायोजन गरेको संयोजक बरालले सुनाए । कोरोना संक्रमणको जोखिमका कारण यसअघि सामुदायिक विद्यालयले वैकल्पिक विधि अपनाइ सिकाइ केन्द्रमार्फत् अध्यापन गराउँदै आएका थिए । मरिण गाउँपालिकाका ४८ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई २६७ वटा सिकाइ केन्द्रमार्फत् वैकल्पिक विधिबाट पढाइ हुँदै आएपनि प्रभावकारी भएको थिएन ।

प्रकाशित : मंसिर ५, २०७७ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?