२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बगैंचामा रमाएका निजामती कर्मचारी

टीकाप्रसाद भट्ट

रामेछाप — लक्ष्मण भुजेल पेसाले निजामती कर्मचारी हुन् । सधैं व्यस्त हुने जिल्ला प्रशासन कार्यालय रामेछापमा कार्यरत भूजेलको चिनारी त्यत्तिले मात्र पुग्दैन । उनी उदाउँदो किसान पनि हुन् ।  

बगैंचामा रमाएका निजामती कर्मचारी

भुजेलको घर मन्थली नगरपालिका वडा नम्बर १ मा पुग्ने जो कोहीले उनको कृषिकर्मको खुलेर प्रसंशा गर्छन् । छिमेकीको सुख्खा जग्गाको वरिपरि उनले आफ्नो जग्गालाई हरियाली बनाएका छन् । उनले कृषिका विभिन्न सिप सिकेका छन् र उत्पादनमा रमाएका छन् । कृषि प्राविधिकका साथै इन्टरनेटको प्रयोग गरेर आफ्नो कृषि जमिनको खेती सुधार गर्दै आएका भूजेल घरमा पुग्ने सबैलाई आफ्नो खेतिका बारेमा बेलीविस्तार लगाउँछन् ।

अविवाहित भूजेल प्राय: एक्लै कृषिमा जुट्छन् । भान्सामा वृद्धा आमालाई छोडेर उनी बिहान-बेलुका कृषिलाई अझ निखार ल्याउन बारी कान्लामै खट्छन् । बारबेर, सिँचाई, गोडमेल र नयाँ फलफूल थप्ने उनको दैनिक कार्य जस्तै हो । रोग, किरा र छाँटकाँटको हेरचाह गरिरहेका हुन्छन् ।

भूजेलले आफ्नो सबै जग्गामा फलफूल उमारेका छन् । उनको पाखो जग्गामा मकै रोप्नका लागि गोरु नहुलेको केही वर्ष भयो । बरु कहिलेकाहीं कामदारले गोडमेल गरिरहेका हुन्छन् ।

पाखो जग्गामा रोपेका हरेक फलफूलको फेदमा प्लाष्टिकको ठूलो जर्किन राखिएको छ । जर्किनमा पानी भरेर थोपा सिँचाईको प्रयोग गर्दै आएका उनले उक्त सीप अन्यलाई पनि सिकाएका छन् । ‘मन्थलीस्थित मन्थली माविमा गएको वर्षायाममा आँप लगायतका धेरै फलफूलका बिरुवा रोपियो’, भुजेल भन्छन् – 'जर्किन र थोपा प्रविधिको बारेमा मैले सुझाइदिए, उनीहरुले त्यसैगरी बिरुवा हुर्काउँदै छन् ।' उनले प्रयोग गरेका २० लिटर क्षमताका जर्किनले थोपा सिँचाई कार्यलाई प्रभावकारी बनाएका छन् ।

मन्थली सुख्खा क्षेत्र हो । बिरुवा रोप्ने अभियान हरेक वर्ष भए पनि तिनको आयु छोटो हुन्छ । विगत १० वर्षदेखि पर्याप्त वर्षा नहुँदा मन्थली वरिपरी सुख्खा पाखो छ । बिरुवा लगाएको एक वर्ष नपुग्दै अधिकांश मर्ने गर्छन् ।

भुजेलले आफ्नो सबै जग्गालाई दीगो रुपमा बारबेर गरेका छन् । लाखौं खर्चेर तारजालीले जग्गा घेरेकाले छाडा पशुले खान पाएका छैनन् । घरभन्दा अलि माथिको लिसिमपानीको पानी ल्याएर ट्यांकीमा जमाएका छन् । त्यही माथि पाईपमार्फत बिरुवाको भेदको जर्किनमा भर्छन् । भन्छन्– 'बिरुवा हुर्काउन बारबेर र सिँचाई नै महत्वपूर्ण कुरा हो ।'

उनको मेहनतले केही वर्षअघिदेखि उपलब्धि दिन थालेका छन् । सयभन्दा बढी विभिन्न जातका आँपका रुखमा रहरलाग्दो फल लाग्न थालेका छन् । त्यसका अतिरिक्त रुख र भुइँ कटहर, कागती, एवोगाडो, अम्बा, निबुवा, रुद्राक्ष र केरा उनको बगैंचाका अन्य फलफूल हुन् । तिनको संख्यासमेत उल्लेख्य छ ।

फलफूल बगैंचाभित्र सिजन बमोजिमको तरकारी लगाउँछन् र त्यसैबाट घरको आवश्यकता धान्छन् । 'चार/पाँच वर्ष भयो मैले यो काम गर्न थालेको', भुजेल भन्छन्– 'अझै व्यवस्थित बनाउने प्रयासमा जुट्दै छु ।'


प्रकाशित : कार्तिक २६, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?