३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

नदी किनारमा डम्पिङसाइड 

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली नगरपालिकाले रणजोर खोलाको किनारमा डम्पिङसाइड बनाएपछि स्थानीय समस्यामा परेका छन् । शव जलाउँदा, धार्मिक पर्वमा नुहाउने लगायत कार्यका लागि स्थानीय त्यस क्षेत्र पुग्नु पर्ने बाध्यता छ ।  

नदी किनारमा डम्पिङसाइड 

‘नगरपालिका भएपछि फोहोरको दीर्घकालीन समाधान होला भन्ने सोचेका थियौं ’, स्थानीय सिताराम कार्की भन्छन्, 'तीन वर्ष बिते योजनासम्म अघि सरेको छैन । गाविस हुँदै रणजोरमा खाडल खनेर फोहोर फ्याँक्ने गरिएको थियो । बजार विस्तारसँगै फोहोर बढेपछि त्यसले धान्न सकेको छैन । अहिले फोहोरले ठूलो क्षेत्र ओगटेको छ ।'

नगरपालिकाले बजारको फोहोर उठाई र तामाकोसी किनारसम्म लैजान वार्षिक ठेक्का लगाएको छ । पछिल्लो समय ठेकेदारले फोहोर बोक्नका लागि ट्रयाक्टर प्रयोग गर्न थालेका छन् । ट्याक्टरमा फोहोर लैजाँदा बाटोभरी झर्ने गरेको कार्कीले गुनासो गरे । यसअघि फोहोर बोक्न ठूला गाडी प्रयोग गरिन्थ्यो ।

फोहोरसँगै सिसा, सुई र फलामका टुक्राहरु बाटोमा झर्ने गरेकाले पैदल यात्रु र किसानलाई कठिनाई सहनु परेको मन्थलीका प्रेम श्रेष्ठ बताउँछन् । श्रेष्ठका अनुसार पटक पटक ठेकेदारलाई उक्त गुनासो गर्दा सुनुवाइ भएको छैन । नगरपालिकाले टिपर दिँदासम्म यस्तो समस्या खासै थिएन ।

नगरपालिकाले दुई वर्षअघिदेखि नै दीर्घकालीन रुपमा फोहोर विसर्जन स्थानको खोजी थालेको छ । वातावरणीय दृष्टिले डम्पिङसाइड निर्माणका लागि उपयुक्त स्थान खोजी गरी त्यसको डीपीआर निर्माणका लागि सहरी विकास मन्त्रालय अन्तर्गतका प्राविधिकलाई जिम्मा दिएकोमा हालसम्म डीपीआरको काम सकेर नदिएको मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले बताए ।

बस्नेत भन्छन्–डीपीआर आउना साथै डम्पिङसाइडको काम थाल्छौं । फोहोरको दीर्घकालीन विसर्जन गर्नका लागि नगरपालिकाले नीतिगत निर्णय समेत लिइसकेको तर स्थानकै कारण ढिला भएको बस्नेतले बताए ।

प्रकाशित : कार्तिक १४, २०७७ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?