थप उपचारका लागि मुख्यमन्त्री पौडेल सेनाको हेलिकप्टरमा काठमाडौं

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं गएका छन् ।

थप उपचारका लागि मुख्यमन्त्री पौडेल सेनाको हेलिकप्टरमा काठमाडौं

बिहीबार मुख्यमन्त्रीसहित उनका पत्नी, एक जना सुरक्षाकर्मी, २ जना चालक र एकजना कार्यालय सहयोगीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । हेटौंडाको सामरीस्थित नेपाली सेनाको मध्यपृतना हेडक्वार्टरबाट शुक्रबार दिउँसो करिब १ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत् थप उपचारका लागि पत्नीसहित मुख्यमन्त्री पौडेल काठमाडौं गएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । पौडेलको उपचार गंगालाल हृदय रोग केन्द्र बाँसबारीमा हुने बताइएको छ ।

'मुख्यमन्त्रीको स्वास्थ्यमा खासै समस्या देखिएको छैन । केही सयम अगाडि मुटुको अप्रेशन गरिएको थियो । जसको कारणले समयमै सावधानी अपनाइएको हो,' मुख्यमन्त्रीको सचिवालयले भनेको छ । सचिवालयका अनुसार गत जेठ १९ गते गंगालालमै मुख्यमन्त्री पौडेलको नियमित स्वास्थ्य परीक्षणका क्रममा मुटुमा समस्या देखिएपछि उनको एनजिओप्लास्टी गरिएको थियो ।

काठमाडौंमा राजनीतिक भेटघाट गरेर फर्किने क्रममा रुघाखोकीसहित कोरोनाको सामान्य लक्षण देखिएपछि बुधबार मुख्यमन्त्री पौडेलको स्वाब परीक्षण गरिएको थियो । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक ल्याबमा गरिएको परीक्षणमा ७३ वर्षीय मुख्यमन्त्री पौडेलको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।

सम्बन्धित समाचार

वाग्मतीका मुख्यमन्त्री पौडेललाई कोरोना संक्रमण

प्रकाशित : कार्तिक ७, २०७७ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?