तीन लाख २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जना पक्राउ- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तीन लाख २१ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — हजार रुपैयाँको नक्कली नोट बनाएको आरोपमा चितवन प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई चितवनको पूर्वी क्षेत्र भण्डारा बजारबाट मंगलबार पक्राउ गरेको हो । चितवन जिल्ला प्रहरी कार्यालयले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरेर बरामद भएको ३२१ थान नक्कली नोटसहित आरोपित लोप्चनलाई सार्वजनिक गरेको छ ।

राप्ती नगरपालिका–५ भण्डारा बजारको एक पसलमा सामान किनेपछि एक जना युवकले नक्कली नोट दिएर फरार भएको भन्ने सूचनाका आधारमा प्रहरीले लोप्चनलाई समाएको हो । नक्कली नोट दिएको पसलभन्दा केही पर प्रहरीले लोप्चनलाई समाउँदा उनको साथमा हजार रुपैयाँ दरका १२ थान नोटहरु थिए । जुन नक्कली थियो । इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक राजीव गिरीले उनलाई समाएका थिए ।

उनले खाजा खाने गरेको एक होटलबाट पनि हजार रुपैयाँका सात थान नक्कली नोट भेटिएको थियो । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका डीएसपी सूर्य थापाका अनुसार राक्सिराङको घरबाट थप ३०२ थान नोटहरु फेला परेको हो । ती नोटहरुको थप परीक्षण हुने र अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाएको डीएसपी थापाले जानकारी दिए ।

प्रकाशित : कार्तिक ६, २०७७ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्

‘गुप्तचर शैली’कै भ्रमण सकेर फर्किए ‘रअ’ प्रमुख गोयल

जगदीश्वर पाण्डे

काठमाडौं — भारतीय गुप्तचर विभाग ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौंमा ‘गुप्तचर शैली’कै भ्रमण सकेर बिहीबार फर्किएका छन् ।

उनी बुधबार दिउँसो १ बजे चार्टर्ड विमानबाट त्रिभुवन विमानस्थलमा उत्रिएका थिए । विमानस्थल स्रोतका अनुसार गोयल सोही विमानमा बिहीबार बिहान सवा १० बजे नयाँ दिल्ली फर्किएका हुन् ।

उनी आएको र गएको बाहेक सम्पूर्ण गतिविधि भने गोप्य नै रह्यो ।

राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले ‘रअ’का प्रमुख काठमाडौं आएको पुष्टि गरे । उनले कान्तिपुरसँग भने, ‘यो औपचारिक भ्रमण होइन, उहाँको व्यक्तिगत वा धार्मिक भ्रमण हुन सक्छ ।’

भारतीय सेनाध्यक्ष मनोजमुकुन्द नरावणे नेपाल भ्रमणमा आउनुअघि त्यहाँकै अर्को सुरक्षा संस्थाका प्रमुखको नेपाल भ्रमणको मुख्य एजेन्डा के थियो भन्ने सार्वजनिक भएन । स्रोतका अनुसार गोयलका लागि द्वारिकाज होटल र हायात होटलमा कोठा बुक गरिएको थियो ।

गोयलको भ्रमणसम्बन्धमा नेपाली सेनालाई कुनै जानकारी नभएको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताएका थिए । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि गोयलको भ्रमण कार्यक्रमबारे अनभिज्ञता जनाएकी थिइन् । तर परराष्ट्रले नै ‘कूटनीतिक अनुमति’ सहित भारतीय कूटनीतिक उडानका लागि आवश्यक प्रबन्ध तय गर्न भन्दै नेपाल उड्डयन प्राधिकरणलाई पत्र लेखेको थियो । त्यही अनुसार नेपाल उड्डयन प्राधिकरणले प्रबन्ध मिलाएको थियो ।

दुई देशबीचको सीमा विवादमा नेपालले नयाँ नक्सा जारी गरेपछि भारतीय पक्षबाट कुनै उच्च अधिकारी नेपाल आएका थिएनन् । गोयल नेपाल आएको यो पहिलोपटक भने होइन । उनी यसअघि सन् २०१९ को जुलाईमा आएका थिए । त्यस बेला उनले उच्चस्तरीय भेटघाट गरेका थिए । उनको यसपालिको भ्रमणबारे भारत र नेपाल दुवै पक्षले गोप्य राखेका छन् । भारतीय दूतावासले गोयल आएको अस्वीकार गर्दै आएको छ ।

गोयलले नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेको भन्ने समाचारहरु प्रकाशित भएको भन्दै दाहालको सचिवालयले एक विज्ञप्ति प्रकाशित गर्दै भेटघाट नभएको जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७७ १०:५०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×