२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

दसैंमा कोरोना परीक्षण नरोकिने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले दसैंमा पनि कोरोना परीक्षण जारी राख्ने भएको छ । संघीय सरकारले संक्रमित आफैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्ने, सरकारी तथा निजी दुवै अस्पतालले परीक्षण, भर्ना र उपचारबापत शुल्क लिने व्यवस्था लागू गरिसकेको अवस्थामा वाग्मती प्रदेशले भने कोरोनाको परीक्षण र उपचार साविक बमोजिम नि:शुल्क हुने बताएको छ । 

दसैंमा कोरोना परीक्षण नरोकिने

‘दसैंको बिदामा पनि परीक्षण र उपचार हुनेछन्,’ वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले भने,‘प्रदेश सरकारअन्तर्गत्का प्रयोगशाला र अस्पतालबाट कोभिड–१९ को परीक्षण र उपचार साविक बमोजिम नि:शुल्क हुनेछ ।’

प्रदेश सरकारअन्तर्गत् हेटौंडा र धुलिखेल गरी दुईवटा प्रयोगशालामा दसैंभर परीक्षणको तयारी पूरा गरिएको मन्त्रालयका सूचना अधिकारी डा. पुरुषोत्तम सेढाईंले जानकारी दिए । उनका अनुसार दुईवटा प्रयोगशालामा गरी दैनिक छसय स्वाब परीक्षण हुनेछन् ।

वाग्मती प्रदेशमा देशभरको कुल कोरोना संक्रमितमध्ये पचास प्रतिशत रहेका छन् । पछिल्लो २४ घण्टामा यस प्रदेशमा दुईहजार १२ जना नयाँ कोरोना संक्रमित फेला पारेको वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ । वाग्मती प्रदेशमा हालसम्म ६९ हजार सात सय ३७ जना संक्रमित भएका छन् । संक्रमितमध्ये ६३ दशमलव ५ प्रतिशत अर्थात ४४ हजार दुई सय ५७ जना कोरोना संक्रमणमुक्त भएको डा. सेढाईंले जानकारी दिए । उनका अनुसार प्रदेशभर हालसम्म तीन सय ४५ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रदेशमा हाल २५ हजार एक सय ३५ जना कोरोना संक्रमित सरकारले निर्माण गरेको आइसोलेसन वार्डमा र घरमै आइसोलेटेड भएर बसिरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । उनीहरुमध्ये एक सय ५० जना आईसीयूमा उपचाररत् रहेका छन् । ४९ जना भेन्टिलेटरमा उपचाररत् रहेको बताइएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ ०९:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?