२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

बेलकोटगढीमा सामूहिक जमरा

कान्तिपुर संवाददाता

नुवाकोट — गाउँका सबै जातजाति मिलेर जमरा राख्दै आएको बेलकोटगढीस्थित निरञ्जना देवीथानमा यस पटक सहभागिता घटेको छ । पोहोर २ सय ३५ घरधुरीले मन्दिरमा सामूहिक जमरा राखेका थिए । 

बेलकोटगढीमा सामूहिक जमरा

शनिबार १ सय २६ घरधुरीले जमरा राखेको बेलकोटगढी–१० का भोलाराज पौडेलले बताए । ‘भिडभाडमा बस्नुपर्छ भनेर यो पटक कोरोनाको डरले समूहमा जमरा राख्ने घटेका हुन्,’ उनले भने, ‘दलित, गैरदलित र जनजाति मिलेर देवी दुर्गाको प्रसादस्वरूप यहाँ जमरा राख्ने चलन वर्षौंदेखिको हो ।’ कोरोनाबाट जोगिन सतर्कता अपनाएर यो पटक जमरा राखिएको उनले बताए । ‘जमरा राख्ने–नराख्ने दुविधामा थियौं । भिडभाड नगरी स्वास्थ्य मापदण्ड अपनाएर जमरा राख्यौं,’ उनले भने ।

स्थानीय भीमबहादुर नेपाली नवरात्र सुरु भएपछि देवीथानमा नगरा बजाउँछन् । उनले पनि एक टपरी जमरा यहीँ राखेका छन् । ‘यहाँ भेदभाव छैन,’ उनले भने, ‘सबै मिलेर जमरा राखियो ।’ उनी यही जमरा राखेको मन्दिरमा साँझबिहान नगरा बजाउँछन् । जमरा राख्न स्थानीयहरू बिहान नुहाईधुवाई गरेर सफा ठाउँ र नदीकिनारबाट माटो वा बालुवा ल्याएर टपरी र भुइँमा जमरा राख्छन् । सबै मिलेर जमरा राख्ने चलनले यस पटक पनि निरन्तरता पाएको निरञ्जना मन्दिरका पुजारी महेश पौडेलले बताए ।

‘कोरोनाका कारण प्रशासनले निषेधाज्ञा गरेकाले घटस्थापनामा पोहोर जस्तो भिड हुन पाएन,’ उनले भने । यहाँका मगर समुदायले निरञ्जना भगवतीलाई आफ्नो कुलदेवीका रूपमा पुज्छन् । त्यसैगरी शनिबार साततले दरबार उत्तरपट्टि रहेको तुलजा भवानी दरबारमा पनि जमरा राखिएको छ । तुलजा भवानीको दरबारमा काठमाडौं हनुमानढोकाकै विधिअनुसार जमरा राख्ने चलन छ ।

प्रकाशित : कार्तिक १, २०७७ १८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?