१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सुधारगृहमा बालकको मृत्यु

अन्य १० बालबालिकामा समेत शरीर सुन्निने, खान मन नलाग्ने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण, ५ जनाको अवस्था गम्भीर
सुवास विडारी

मकवानपुर — बाल मिच्याइँ गरेर अदालतबाट दोषी ठहर भई हेटौंडा–११ थानाभर्‍याङस्थित बाल सुधारगृहमा डेढ वर्षदेखि बस्दै आएका एक बालकको बिहीबार राति मृत्यु भएको छ । ज्यान मार्ने उद्योगमा संखुवासभाको खाँदबारी–११ घर भएका १८ वर्षीय ‘पुन्टे’ भनिने इन्द्रजित राईको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए ।

उनका अनुसार इन्द्रजितलाई शरीर सुन्निने, खान मन नलाग्ने र श्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षणहरू देखिएको थियो । ‘उनी पाँच दिनदेखि बिरामी थिए । उपचारका लागि अस्पताल ल्याएको केही समयमा मृत्यु भयो,’ बाल सुधारगृहका निमित्त प्रमुख प्रकाश सुवेदीले भने । उक्त सुधारगृहमा ३४ जना बालबालिका छन् । उनीहरूमध्ये १० जनामा उस्तै लक्षण देखिएका छन् ।

सुधारगृहमा रहेका बालकको मृत्युपछि उस्तै लक्षण देखिएका अन्यलाई भक्तपुरको सुधारगृहमा रेफर गर्ने विषयमा छलफल भए पनि अझै टुंगो लागेको छैन । जिल्ला प्रशासन कार्यालयमा शुक्रबार बसेको सरोकारवाला पक्षको बैठकले उपचारका लागि भक्तपुर पठाउन कारागार विभागसँग स्वीकृति लिने निर्णय गरेको छ । ‘कारागार विभागको स्वीकृतिबिना हामी अन्यत्र लैजान सक्दैनौं,’ मकवानपुर प्रशासन कार्यालयका प्रवक्ता देवचन्द्र गर्तौलाले भने, ‘शुक्रबार पत्राचार गरेका छौं । जवाफ आइसकेको छैन ।’

उनका अनुसार इन्द्रजितको मृत्युको अन्तिम मेडिकल रिपोर्टमा कुनै पनि किसिमको खराबी नदेखिएको र के कारणले मृत्यु भएको हो किटान गर्न सकिने अवस्था छैन ।

सुधारगृहका वार्डेन सवलकुमार पुडासैनीका अनुसार मृतक बालकको १० दिनको बीचमा तीन पटक स्वास्थ्य परीक्षण गरिएको थियो । ‘दुई पटक अस्पताल र एक पटक सुधारगृहमै उनको उपचार भएको थियो । हामीले डाक्टरले भनेअनुसार सबै परीक्षणहरू गर्‍यौं । तर, कुनै खराबी देखिएन,’ उनले भने ।

सुधारगृहमा बिरामी परेका १० जनामध्ये पाँच जनाको अवस्था गम्भीर छ । उनीहरूको रगत, दिसापिसाब र ईसीजी रिपोर्टबाट किड्नीमा केही समस्या देखिएको भए पनि खासै असर नगर्ने प्रकृतिको रहेको चिकित्सकहरूले बताएको पुडासैनीले जनाए । ‘किड्नीमा समस्या भनेपछि हामीले सुधारगृहमा प्रयोग भइरहेको पानीको शुद्धता परीक्षण गर्न हेटौंडाको खानेपानी व्यवस्थापन बोर्डमा पठाएका छौं,’ उनले भने । उनीहरूको कोरोना परीक्षण भने गरिएको छैन ।

प्रकाशित : आश्विन १६, २०७७ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?