रामेछापमा तीन महिनादेखि शल्यक्रियासहितको प्रसूति–सेवा बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा तीन महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा जटिल अवस्थाका गर्भवतीहरूलाई प्रसूति गराउन समस्या हुन थालेको छ । शल्यक्रिया गर्नुपर्ने अवस्थाका गर्भवतीहरू जोखिम मोलेर काठमाडौं पुग्नुपर्ने बाध्यतामा छन् ।

रामेछापमा तीन महिनादेखि शल्यक्रियासहितको प्रसूति–सेवा बन्द

मन्थली नगरपालिकाका स्वास्थ्य शाखाप्रमुख केशवराज फुयालका अनुसार गएको असारसम्म केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराउने सेवा सञ्चालनमा थियो । यसैका लागि राखिएका चिकित्सक करार अवधि सकिएर हिँडेपछि सेवा ठप्प भएको हो । चिकित्सक नभएपछि बिरामीलाई शल्यक्रियाअघि लट्याउने स्वास्थ्यकर्मीसमेत जागिर छोडेर हिँडेको उनले बताए ।

फुयालका अनुसार सेवा पुनः सुरु गर्न मन्थली नगरपालिकाले चिकित्सकको खोजी गरिरहेको छ । ‘थोरै पैसामा चिकित्सक बस्न मान्दैनन्,’ उनले भने, ‘मागबमोजिमको पैसा दिन सकिने अवस्था छैन ।’ उनका अनुसार शल्यक्रिया सेवाका लागि चिकित्सकले मासिक ३ लाख रुपैयाँसम्म माग गर्छन् । यसअघि नगरपालिकाले मासिक १ लाख ५० हजार दिएर चिकित्सक राखेको थियो । उनले केही महिना मात्र काम गरे ।

मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रियामार्फत सुत्केरी गराउन सकिए अकालमा आमा र शिशुको ज्यान जाने जोखिम कम हुने बताउँछन् । ‘मैले महिनौंदेखि उक्त सेवाका लागि चिकित्सक खोजिरहेको छु,’ उनले भने, ‘चिकित्सक हुनासाथ सेवा सञ्चालन गर्न कुनै समस्या छैन । नगरपालिकाकै स्रोतबाट शल्यक्रिया सेवा सञ्चालनको तयारी गरेका छौं ।’ जिल्ला अस्पताल र यहाँका निजी अस्पतालमा समेत शल्यक्रियासहितको प्रसूतिसेवा छैन ।

प्रकाशित : आश्विन १६, २०७७ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?