१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

पाँच जिल्लामा एकीकृत बस्ती निर्माण गर्दै वाग्मती प्रदेश

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७७/०७८ मा विभिन्न स्थानमा एकीकृत बस्ती निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

पाँच जिल्लामा एकीकृत बस्ती निर्माण गर्दै वाग्मती प्रदेश

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशको पाँच जिल्लाको आठ स्थानमा चालु आर्थिक वर्षदेखि एकीकृत बस्ती विकास कार्यक्रम अन्तर्गत् वस्ती निर्माण प्रक्रिया सुरु गर्ने भएको हो ।

प्रदेश सरकारले यसका लागि ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरेको भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलले जानकारी दिए । उनका अनुसार प्रदेश सरकारले जनता आवासबाहेक एकीकृत बस्ती निर्माणका लागि चालु आर्थिक वर्ष २०७७/०७८ मा ८ करोड ७० लाख विनियोजन गरेको हो ।

अति सीमान्तकृत माझी, मुसहर र चेपाङ समुदायका लागि एकीकृत बस्ती विकास कार्यक्रम अघि बढाइएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । ‘स्थानीय तहको सिफारिसमा हामीलाई उपलब्ध भएको जग्गामा हामी भौतिक पूर्वाधार निर्माण गर्नेछौं । अति सीमान्तकृत र विपन्न समुदायका लागि यो लाभदायिक कार्यक्रम हो ।’, मन्त्री फुयाँलले दाबी गरे ।

सरकारले सिन्धुलीको दुधौली नगरपालिका–७ र ९ मा एकीकृत मुसहर बस्तीका लागि एक/एक करोड, दोलखाको भीमेश्वर–४ जिलुमा एकीकृत बस्तीका लागि २ करोड, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ र १२ का लागि प्रति वडा एक करोड २५ लाख रकम विनियोजन गरेको छ ।

सिन्धुपाल्चोकको इन्द्रावती–५ मा एकीकृत माझी बस्तीका लागि एक करोड, सिन्धुपाल्चोककै हेलम्बुमा नोर्वुलिङ एकीकृत माझी बस्तीका लागि तीस लाख, सिन्धुपाल्चोककै चौतारा, साँगाचोक गढीमा झ्याडी एकीकृत नमुना माझी बस्तीका लागि ४० लाख, धादिङमा चेपाङ एकीकृत बस्तीका लागि ४५ लाख बजेट विनियोजन गरिएको मन्त्री फुयाँलले बताए ।

प्रदेश सरकारले सिन्धुलीमा एउटा एकीकृत बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको अवस्थामा थप बस्ती निर्माण गर्न अनुभव प्राप्त भएको उनले बताए ।

प्रकाशित : आश्विन १६, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?