खोलाले बगाएर दम्पतीको मृत्यु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खोलाले बगाएर दम्पतीको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरको मकवानपुरगढी गाउँपालिकास्थित सामरी खोलाले बगाउँदा आइतबार एक दम्पतीको मृत्यु भएको छ।

मकवानपुरगढी गाउँपालिका–६ का ज्ञानबहादुर परियार र उनकी पत्नी तुलसा मकवानपुरगढी गाउँपालिका–३ तर्फ जान सामरी खोला तर्ने क्रममा बिहान १० बजे खोलाले बगाउँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मकवानपुरगढीका प्रहरी नायब निरीक्षक कृष्ण केसीका अनुसार खोलाले बगाएर उनीहरुलाई करिब ६० मिटर तल पुर्‍याएको थियो । उनीहरुको शव पोस्टमार्टमा लागि हेटौंडा अस्पताल ल्याइएको छ । मकवानपुरमा शनिबार खोलाले बगाउँदा तीनजनाको मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ १४:२३
प्रतिक्रिया
पठाउनुहोस्

कर्णाली प्रदेश अस्पतालका एक चौथाइ डाक्टर–स्वास्थ्यकर्मी संक्रमित

संक्रमित हुनेमा २० डाक्टर र ३२ अन्य स्वास्थ्यकर्मी
कलेन्द्र सेजुवाल

सुर्खेत — कोरोना कहरले कर्णाली प्रदेश अस्पताललाई अधिक प्रभावित गरेको छ । यहाँका एक चौथाइ चिकित्सक तथा स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन् । केही स्वास्थ्यकर्मी त पुनः संक्रमणको चपेटामा परेका छन् । ‘स्टाफहरू (डाक्टर र स्वास्थ्यकर्मी) लाई कोरोनाबाट जोगाउन निकै मुस्किल पो भयो,’ अस्पतालका निर्देशक डा. डम्बर खड्का भन्छन्, ‘केही साथीहरूलाई त निकै समस्यासमेत भएको छ ।’

वरिष्ठ चिकित्सक डा. हरिप्रसाद सापकोटाको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदेश अस्पतालले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनको स्वास्थ्यलाभको कामना गरेको छ । ५९ वर्षीय सापकोटालाई दुई साताअघि भेरी अस्पताल लगिएको हो । उनलाई आईसीयूमा अक्सिजन दिएर राखिएको खड्काले जानकारी दिए । सापकोटा मात्र होइनन्, हालसम्म कर्णाली प्रदेश अस्पतालका ५२ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोनासँग लड्दालड्दै आफैं संक्रमित भएका छन् । पर्याप्त जनशक्ति र सुरक्षा सामग्री नहुँदा उनीहरूलाई कोरोनाबाट जोगाउन निकै कठिन भएको छ । अस्पतालमा ५५ चिकित्सक र १ सय ५० अन्य स्वास्थ्यकर्मी गरी २ सय ५ जना स्वास्थ्य–जनशक्ति कार्यरत छन् । तीमध्ये हालसम्म २० जना चिकित्सक र ३२ जना अन्य स्वास्थ्यकर्मी संक्रमित भएका खड्काले बताए । उनका अनुसार दुई चिकित्सक र सात जना स्वास्थ्यकर्मी अहिले पनि उपचारकै क्रममा छन् । ‘एक जना (डा. सापकोटा) लाई अलि गाह्रो भएकोले नेपालगन्ज पठाएका हौं, अरू सबै स्टाफको यहीँ उपचार भएको हो,’ उनले भने, ‘आफैं संक्रमित भए पनि अस्पतालको कोरोना उपचार सेवा भने प्रभावित भएको छैन ।’ संक्रमित चिकित्सकमध्ये सात जना वरिष्ठ कन्सल्टेन्ट हुन् । सुरुदेखि नै कोरोना विशेष अस्पतालको संयोजन गरेका डा. केएन पौडेल संक्रमित भएपछि अहिले अस्पतालको नियमित सेवामा काम गरिरहेका छन् । तीन जना स्वास्थ्यकर्मीमा निको भएर पनि पुनः संक्रमण देखिएको छ ।

प्रदेश अस्पतालमा पर्याप्त जनशक्ति नहुँदा कोरोना र नियमित स्वास्थ्यसेवामा उनै स्वास्थ्यकर्मीले ड्युटी गर्दै आएका छन् । २ सय शय्याको कोरोना विशेष अस्पताल भए पनि त्यहाँ ड्युटी गर्ने चिकित्सक र स्वास्थ्यकर्मीले आलोपालो नियमित सेवामा पनि ड्युटी गर्नुपर्छ । यसले गर्दा पनि संक्रमण फैलिन सघाउ पुगेको अस्पताल निर्देशक डा. खड्काले बताए । उनका अनुसार कोरोना अस्पतालमा ड्युटी गरेकामध्ये सात जना चिकित्सक संक्रमित भएका छन् ।

४० जना आईसीयूबाट फर्किए

कर्णाली प्रदेश सरकारले सुर्खेतस्थित प्रदेश अस्पतालका साथै जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (शिक्षण अस्पताल) र रुकुम पश्चिमको चौरजहारी सामुदायिक अस्पताललाई कोरोना अस्पताल तोकेर पूर्वाधार विकास गरेको छ । प्रदेशको राजधानी र प्रवेशद्वारसमेत रहेका कारण संक्रमितको चाप भने वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा बढी रहने गरेको छ । जटिल अवस्थाका अन्यत्रका बिरामीलाई समेत यहीँ ल्याएर उपचार गर्ने गरिएको छ ।

अस्पतालका अनुसार जेठ पहिलो सातादेखि हालसम्म ५ सय ८ जना संक्रमित भर्ना भएकामा ४ सय ४४ जना निको भएर घर गएका छन् । एक जनाको उपचारका क्रममा मृत्यु भएको र ६३ जना अहिले पनि उपचारमै रहेको अस्पतालको मेडिकल रेकर्डिङ शाखाका कर्मचारी मदनकुमार लामिछानेले बताए । उनका अनुसार अस्पतालमा भर्ना भएकामध्ये ४० जनालाई आईसीयूमा राखेर उपचार गरिएको छ ।

स्वास्थ्यकर्मीमा किन झाँगियो संक्रमण ?

जनशक्ति कम हुँदा कोरोना अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले आलोपालो गरी ओपीडी, इमर्जेन्सी र इन्डोरमा काम गर्नुपर्ने बाध्यता छ । अस्पताल निर्देशक खड्का कोरोना विशेष अस्पतालका लागि छुट्टै जनशक्ति व्यवस्थापन गर्न नसक्दा उपचारमा सक्रिय चिकित्सक र स्वास्थ्यकर्मीमा संक्रमण फैलिएको बताउँछन् । उनका अनुसार विशेष अस्पतालका लागि कम्तीमा २४ जना तालिमप्राप्त स्वास्थ्यकर्मीको आवश्यकता छ । ‘कोरोना अस्पतालमा काम गरेका स्टाफलाई नै अन्यत्र खटाउनुपर्ने बाध्यता छ, जनशक्ति अभावले विशेष अस्पताललाई अलग राख्न सकिएको छैन,’ उनले भने, ‘यही कारण हामीले नसोचेको संख्यामा साथीहरू संक्रमित हुनुभयो ।’

कोरोना विशेष अस्पतालमा उपचारमा संलग्न चिकित्सक र नर्सलाई सात दिनका लागि ड्युटी तोक्ने गरिएको छ । उनीहरू दैनिक १२ घण्टाका दरले ड्युटीमा खटिन्छन् । बिहान ७ देखि साँझ ७ बजेसम्म दुई जना डाक्टर–नर्स र साँझ ७ देखि बिहान ७ सम्म अरू दुई जना डाक्टर–नर्स ड्युटीमा बस्छन् । ड्युटीमा खटिएका डाक्टर–नर्सले उक्त अवधिमा घर जान पाउँदैनन् । उनीहरूलाई स्थानीय होटलमा बस्ने व्यवस्था मिलाइएको छ । सात दिनपछि अरू डाक्टर–नर्सलाई खटाइने र उनीहरूलाई १४ दिन होटल क्वारेन्टाइनमा राखेपछि घर जान दिने गरिएको छ । डा. खड्काका अनुसार अस्पतालको नियमित वार्डमा चारवटा आईसीयू छन् । सोही आईसीयूमा काम गर्ने तालिमप्राप्त चिकित्सक र स्वास्थ्यकर्मीले कोरोनाको आईसीयूसमेत हेर्ने गरेका छन् । कोरोनाका लागि १५ आईसीयू र दुई भेन्टिलेटर भए पनि त्यसअनुसार जनशक्ति अभाव रहेको उनले बताए ।

अन्यत्रको तुलनामा संक्रमितको चाप अधिक भएकाले पनि व्यवस्थापनमा चुनौती देखिएको छ । कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. नवराज केसी अन्य जिल्लाका जटिल अवस्थाका बिरामीका साथै लक्षण नदेखिएका संक्रमितले बेड भरिभराउ हुँदा समस्या हुने गरेको बताउँछन् । ‘डाक्टर आफैंले संक्रमितलाई खाना दिनुपर्छ, यसले गर्दा उपचारमा ध्यान दिन गाह्रो हुन्छ,’ उनले भने, ‘लक्षण देखिएका र जटिल अवस्थाका बिरामीलाई मात्र भर्ना गर्ने हो भने उपचारमा सहजता हुनुका साथै स्वास्थ्यकर्मीलाई समेत संक्रमणबाट जोगाउन सकिन्छ ।’ अब श्वासप्रश्वाससम्बन्धी समस्या भएका, अन्य जटिल रोग भएका र कडा लक्षण देखिएका संक्रमितलाई मात्र कोरोना विशेष अस्पतालमा भर्ना गर्नुपर्ने उनले बताए ।

दुईपटक अस्पताल सिल

स्वास्थ्यकर्मी र चिकित्सक जोखिममा परेपछि दुईपटकसम्म अस्पतालको इमर्जेन्सी र ओपीडी सेवा बन्द गरिएको छ । जेठ २७ गते सर्पले टोकेका संक्रमित व्यक्ति जानकारीबिनै इमर्जेन्सीमा भर्ना भएपछि एक दिनको लागि आकस्मिक कक्ष सिल गरिएको थियो । सुर्खेत, तरंगाका ५० वर्षीय ती व्यक्ति भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

एकैपटक ९ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि दोस्रोपटक असार ११ गतेदेखि १० दिनका लागि ओपीडी सेवा बन्द गरिएको थियो । ‘अस्पतालका अन्य स्वास्थ्यकर्मी र सेवाग्राहीलाई संक्रमणबाट जोगाउन पटक–पटक अस्पतालको नियमित सेवा बन्द गर्नुपरेको छ,’ डा. खड्काले भने, ‘यसबाट कोरोना विशेष अस्पतालको सेवा भने प्रभावित भएको छैन ।’

अविचलित नेतृत्व

सावधानी र सतर्कताका अनेक विधि अपनाउँदासमेत सहकर्मीलाई संक्रमणबाट जोगाउन नसकेकोमा अस्पताल निर्देशक खड्का केही खिन्न देखिन्छन् । ‘हामीले चीनमा कोरोना देखिनेबित्तिकै अस्पतालमा सावधानीको तयारी थालेका थियौं,’ उनी भन्छन्, ‘अहिले पनि कोरोनासँग डटिरहेका छौं, विचलित भने छैनौं ।’

नेपालमा कोरोना संक्रमण भित्रिनेबित्तिकै २ सय शय्याको कोरोना विशेष अस्पताल निर्माण गर्नुका साथै पर्याप्त मात्रामा आईसीयू, भेन्टिलेटर, पीसीआर मेसिन र अन्य स्वास्थ्य–उपकरण खरिद गरिएको उनले बताए । जटिल अवस्थामा पुगेका ४० जनालाई आईसीयूमा उपचार गरेर सकुशल घर फर्काउनुलाई पनि खड्काले सफलताको संज्ञा दिए । ‘हुन त हाम्रा एक जना सिनियर डाक्टर आइसीयूमा हुनुहुन्छ, तर हामीले धेरै बिरामीलाई आईसीयूबाट उठाएर घर पठाएका छौं,’ उनले भने, ‘आफू संक्रमित भएर पनि कोरोनाविरुद्धको लडाइँमा हार्न नचाहने सहकर्मीको साहसले मलाई थप ऊर्जा दिएको छ ।’

प्रकाशित : आश्विन ११, २०७७ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×