राप्तीले बगाएर एक किशोरीको मृत्यु- वाग्मती - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राप्तीले बगाएर एक किशोरीको मृत्यु

सुवास विडारी

मकवानपुर — राप्ती खोलाले बगाएर शनिबार दिउँसो एकजना किशोरीले ज्यान गुमाएकी छन् । मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गरेको  भीमफेदि गाउँपालिकास्थित त्रिखण्डेश्वर मन्दिरमा घुम्नका लागि आएकी १७ वर्षीया प्रियंका सोनीको राप्ती खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार वीरगञ्ज घर भएकी उनी परिवारसँग घुम्नका लागि त्यहाँ आएकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार सेल्फि खिच्ने क्रममा लड्दा उनलाई खोलाले बगाएको थियो । उनको शव त्रिखण्डीबाट करिब एक किलोमिटरबाट तल भेटिएको थियो । उनलाई खोलाले बगाएपछि प्रत्यक्षदर्शीहरुले निकाल्न खोजेपनि सकेनन् । स्थानीय तथा घुम्न गएकाहरुले उनलाई खोलाबाट निकाल्दासम्म उनको मृत्यु भइसकेको थियो ।

उनलाई झिक्न उनको शव हाल पोस्टमार्टमाका लागि हेटौंडा अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १०, २०७७ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्

नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा चारसहित ८ जनाको कोरोनाबाट मृत्यु भएको हो । 

मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौंमा २० र ७४ वर्षीय पुरुषको मृत्यु भएको छ । यस्तै भक्तपुरमा ८८ र ललितपुरमा ७६ वर्षीय पुरुषको मृत्यु भएको छ ।

यसैगरी सप्तरीमा ६३, मकवानुरमा ७४, रुपन्देहीमा ७२ र कैलालीमा ३० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।

नेपालमा थप १२ सय ७ जनामा कोरोना संक्रमण देखिएको छ । १० हजार १९ पीसीआर परीक्षण भएकोमा महिला ४ सय ११ र पुरुष ७ सय ९६ जनामा संक्रमण देखिएको हो ।

प्रकाशित : आश्विन १०, २०७७ १७:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×