१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लकडाउन अवधिको शुल्क मिनाहा गर्दै कमलामाईका निजी विद्यालय

राजकुमार कार्की

सिन्धुली — सदरमुकाम सिन्धुलीमाडीका निजी विद्यालयहरूले विद्यार्थीलाई लकडाउन अवधिको शुल्क मिनाहा गर्न थालेका छन् । उनीहरूले नयाँ शैक्षिक सत्रको सुरुको पाँच महिनाको शुल्क नलिने भएका हुन् । यहाँका सिद्धस्थली, न्यू सिद्धस्थली, आधुनिक, सिद्धबाबा, न्यू इंग्लिस, सूर्योदयलगायत एक दर्जनजति बोर्डिङ स्कुलले शुल्क छुट दिने जनाएका छन् ।

लकडाउन अवधिको शुल्क मिनाहा गर्दै कमलामाईका निजी विद्यालय

सदरमुकाममा रहेको भगवती अंग्रेजी माविले भदौ मसान्तसम्मको शुल्क मिनाहा गरेको छ । लकडाउनपछि अनलाइन कक्षा चलाए पनि अभिभावकको चाहनाबमोजिम शुल्क मिनाहा गरेको विद्यालय सञ्चालक रमाकान्त सुवेदीले बताए ।

सरकारले लकडाउन अवधिको शुल्क निर्धारणको जिम्मा सम्बद्ध स्थानीय तहहरूलाई दिएको छ । अभिभावक भेलामा गर्दा चार महिनाको शुल्क मिनाहा हुनुपर्ने माग उठे पनि एक महिनासमेत थपेर पाँच महिनाका छुट दिने निर्णय भएको भगवती माविले जनाएको छ ।

‘अनलाइन कक्षा भइरहेको थियो, तैपनि केही छुट देलान् भनेर भेलामा कुरा उठाएको, सबै शुल्क पो मिनाहा गरिदिए,’ अभिभावक गोविन्द कोइरालाले भने, ‘यो शुल्क मिनाहले हामी अभिभावकलाई धेरै सहयोग भएको छ ।’ अनलाइन कक्षामा चाहिने ल्यापटप, मोबाइल, नेटलगायत सामग्रीमा गरेको खर्च शुल्क मिनाहले परिपूर्ति भएको उनको भनाइ छ ।

कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले विद्यालयले अभिभावकलाई यसरी छुट दिँदा सकारात्मक सन्देश जाने बताए । ‘सकिन्छ भने सबै शुल्क छुट दिन, अन्यथा अभिभावकको चाहनाअनुसार गर्न अनुरोध गरेका थियौं,’ उनले भने, ‘निजी विद्यालयले त्यसलाई कार्यान्वयन गरेको सन्देश आइरहेको छ ।’ सदरमुकाममा मात्रै दुई दर्जनभन्दा बढी निजी विद्यालय छन् । तीमध्ये केही बोर्डिङले महामारी नसकिएको भन्दै थप छुट गर्ने सामाजिक सञ्जालमार्फत पनि उल्लेख गरिरहेका छन् ।

प्रकाशित : आश्विन ९, २०७७ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?